जानकीमा पहिलोपटक कन्या विद्यालय संचालनमा
Friday, April 21st, 2023, 9:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, ८ बैशाख
बाँके जिल्लामा रहेको जानकी गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि पालिकामा पहिलोपटक छात्राहरुका लागि विद्यालय संचालन गरेको छ । पालिकाको वडा नम्बर ३, मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राहरुका लागि मात्रै यो वर्षदेखि कक्षा ६ सम्म अध्यापन सुरु गरिएको जानकीका अध्यक्ष छब्बन खाँले बताए ।
जानकीले विद्यालय संचालनसँगै शुक्रबारदेखि भर्ना अभियान पनि सुरु गरेको छ । यो वर्ष करिब २ सय छात्रा विद्यार्थीलाई विद्यालयमा भर्ना गर्ने लक्ष्य लिएको जानकीले घरदैलोसमेत गर्ने जनाएको छ ।
जानकीले यो वर्ष ९० लाख रुपैयाँको लागतमा छात्रा विद्यालय संचालनको तयारी गरिरहेको छ । जसमध्ये संघीय सरकारको विशेष अनुदानबाट आएको ५० लाखबाट पालिकाले विद्यालयको पर्खाल, शौचालय निर्माणको काम गरिरहेको छ भने विद्यालय संचालन गर्नका लागि पालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकिए अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
पालिकाले विद्यालयमा छात्राहरुका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोषाख र आउन जानका लागि निःशुल्क यातायात, स्वाच्छ पानी तथा शौचालयको पनि व्यवस्था गरेको छ भने विद्यालय संचालनका लागि शिक्षिकाको मात्रै व्यवस्था गरिएको अध्यक्ष खाँले बताए ।
उक्त विद्यालयमा पालिकाका ६ वटै वडाका छात्राहरुलाई समावेश गर्नेगरी पालिकाले यातायातको व्यवस्था गरेको हो भने आवश्यकताअनुसार यातायातका साधनहरु थप्दै जाने खाँले जनाए ।
पालिकाले शुक्रबार भर्ना सुरु गर्नुका साथै विद्यार्थीलाई विद्यालय पोषाख, शैक्षिक सामग्री पनि वितरण गरेको छ ।