नेपालगन्जमा मनाइयो ‘ईदुलफितर’
Saturday, April 22nd, 2023, 2:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ बैशाख
नेपालगन्जमा विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ शान्ति र सद्भावको महान् पर्व ईदुल फितर शनिबार मनाएका छन् । शनिबार बिहानै नेपालगन्जस्थित केन्द्रीय ईदगाहमा सामूहिक नमाजबाट सुरु भएको ईदको औपचारिक कार्यक्रमपछि जिल्लाका विभिन्न ठाउँमा अन्य विविध कार्यक्रमका साथ ईद पर्व मनाइएको छ ।
देशमा शान्ति र आर्थिक उन्नतिका लागि विशेष प्रार्थना गरिएको इदगाह सञ्चालक समितिका महासचिव ईर्फान सिद्धिकीले बताए । उनले रमजान र ईदलाई शान्तिपूर्ण तरिकाले सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार प्रकट गरिएको बताए ।
सो अवसरमा सम्बोधन गर्दै धार्मिक अगुवाहरूले देशका शान्ति, समृद्धि र विकासको कामना गरेको धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए । उनले ईद शान्ति र भाइचाराको पर्व भएको जनाउँदै यसले सबैलाई एकताबद्ध बनाउन सहयोग गर्ने बताए ।
उक्त अवसरमा अन्य धर्म सम्प्रदायका स्थानीय राजनीतिक दलका अगुवाहरू, प्रहरी प्रशासनका प्रमुखहरू, व्यवसायी तथा उद्योगीले ईदगाहमा पुगेर शुभकामना आदान प्रदान गरेका थिए । ईदको सामूहिक नमाज सकिएलगत्तै नेपालगन्जका विभिन्न स्थानमा इद मिलन कार्यक्रम राखेर शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गरिएको थियो । तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वमा उक्त समुदायले सेवई, जर्दा, विरयानी, कबाब लगायतका परिकार पकाएर आफन्त तथा ईष्टमित्रहरुलाई खुवाउने परम्परा रहेको छ ।
यसअघि शुक्रबार मात्र रमजानको अन्तिम शुक्रबारलाई सानो ईदको रूपमा मनाएर विभिन्न मस्जिदमा अलबिदाको सामूहिक नमाज पढेर ईदको स्वागतको तयारी गरिएको थियो ।