गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त
Saturday, April 22nd, 2023, 7:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ बैशाख
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेश सभाको शनिबार बसेको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन् ।
मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका २२ जना सांसद र राप्रपाका २ जना गरी २४ जना सांसदले समर्थन गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ८ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएनन् । एमाले गण्डकीका संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपा सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले एमालेका तीन जना, माओवादी केन्द्रका दुई जना र राप्रपाका एक जना मन्त्री नियुक्त गरेका थिए ।
संघीय सरकारबाट एमाले बाहिरिएपछि गत चैत १० गते गण्डकी सरकारबाट माओवादी केन्द्र बाहिरिएको थियो । मुख्यमन्त्रीबाट अधिकारी बर्खास्त भएसँगै अब नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ । उनलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थन दिने बताइएको छ ।