उत्साह जगाउँदै सकियो तेस्रो नेपालगन्ज फोटो फेस्टिवल
Saturday, April 22nd, 2023, 10:02 pm
Kalpristha
विकास कार्की
नेपालगन्ज, ९ वैशाख
तेस्रो नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न भएको छ । अन्तरालको आयोजना र रक्षक सेक्युरिटीको सहकार्यमा भएको फेस्टिवलका विजेताहरुलाई पुरस्कृत गर्दै सम्पन्न भएको हो । दुई दिन सम्म चलेको फेस्टिवलका विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, राखेप सदस्य अन्जन धमला, केलएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदिप छाजेड, आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, फेस्टिवल निर्णायक टिमका संयोजक विकास कार्की र रमेश मल्लले पुरस्कृत गरेका थिए ।
‘वर्ष फोटो’ विजेता मुगुका पत्रकार राज बहादुर शाहीलाई नगद २५ हजार ५ सय ५५ रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी शुक्रबार देखि सुरु भएको फेस्टिवलमा खेलकुद विधाका विजेता सत्यम जोशी, पर्यटन विधाका विजेता सृजना ओली, संस्कृति तर्फको विजेता बबि साई, प्रकृति र संरक्षण तर्फको विजेता श्रीराम खत्री, दैनिक जीवन तर्फ मनोज पौडेल, कृषि तर्फ राज बहादुर शाही, नेपाल स्माईल र समाचार विधाका विजेता अंगद ढकाललाई नगद जनही ५ हजार र प्रमाणपत्र प्रदान गरियो ।
समापन समारोहका प्रमुख अतिथि राखेप सदस्य सदस्य सचिव घिसिङले नेपालगन्जलाई राष्ट्रिय स्तरमा चिनाउन फोटो फेस्टिवलले थप सहयोग गरेको बताए । उनले भने,‘नेपालगन्ज हरेक विधामा उत्तिकै अब्बल छ । खेलकुदका लागि त झन नेपालगन्ज महत्वपुर्ण सहर हो । फोटो फेस्टिवलमा नेपालगन्ज अगाडी भएको यसले देखाउँछ ।’
फोटोले वास्तविक सन्देश दिने भएकोले यसको महत्व धेरै हुने गरेको सदस्य सचिव घिसिङले बताए । उनले थपे, ‘शब्दहरु लेख्दा सबै कुरा नआउन सक्छ । अथवा आएका कुराहरु केहि फरक भएर आउन सक्छन । तर फोटोमा त्यस्तो हुँदै यर्थात कुरा फोटोले बोल्छ । त्यसले फोटो फेस्टिवल जस्तो महत्वपुर्ण कार्यक्रममा सहभागि हुन पाउँदा मलाई खुसी लागेको छ ।’
वर्ष फोटो विजेता राज बहादुर शाहीले दुर्गम क्षेत्रमा बसेर पत्रकारिता गर्न निकै कठिन रहेको भन्दैं फेस्टिवलको विजेता बन्दा आगामी दिनमा आफनो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताए । फेस्टिवलले नेपालगन्जमा नयाँ रचनात्मक काम गर्न उत्साह जगाएको बताउँदै आयोजक अन्तरालका कार्यकारी निर्देशक शाहले विषम परिस्थितीका बाबजुद पनि फेस्टिवललाई निरन्तरता दिइरहेको बताए । उनले आगामी दिनमा यसलाई अझै परिस्कृत गर्दै लग्ने बताए ।
फेस्टिवलमा फोटो प्रतियोगिताबाट छानिएका ८ विधाका १ सय १५ फोटोहरु र बाँके जिल्लाका ‘एक से एक’ फोटोहरु प्रदर्शनीमा राखिएको थियो । दुई दिन सम्म चलेको फेस्टिवलमा करिब ३ हजार जनाले अवलोकन गरेका थिए ।
शुक्रबार देखि सुरु भएको फेस्टिवलको नेपाली कांग्रेसका सह–महामन्त्री एवम् बाँके क्षेत्रं ३ का संघिय सांसद किशोर राठौरले उद्घाटन गरेका थिए । बागेश्वरी असल शासन क्लब, नेपालगन्ज ग्यालरी र रक्षकको सहकार्यमा भएको फोटो फेस्टिवल भएको थियो । फेस्टिवलको फोटो प्रतियोगितामा डेलि लाईफ,कल्चर, टुरिजम, नेचर एण्ड कन्जरभेसन, खेलकुद, नेपाल स्माईल, एग्रीकल्चर र न्युज बिधामा करिब २ हजार फोटोहरुको सहभागिता रहेको थियो ।