नेपालमा टेबल टेनिसको साताव्यापी कार्यक्रम सम्पन्न
Sunday, April 23rd, 2023, 7:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १० वैशाख
स्ट्याग प्रशिक्षक नरेश रावलले नेपालमा विश्व टेबल टेनिस दिवस–२०२३ कार्यक्रम सफलता पुर्वक नेपालमा आयोजना गरेका छन् ।
अन्तराष्ट्रिय टेबलटेनिस फाउण्डेशन जर्मनीको ‘थिंक सस्टेनेबली एक्ट नाउ’ भन्ने नारामा आधारित कार्यक्रम एक साता सम्म चलेको थियो । साताव्यापी कार्यक्रम स्ट्याग सरोजको टेबलटेनिस–४ अल क्लबमा भएको थियो ।
आइटीटीएफ लेभल–२ प्रशिक्षक रावलले तालिम चरण, प्रतियोगिता चरण र पुरस्कार समारोह चरणमा गरी तिन चरणमा कार्यक्रम तय गरेका थिए । तालिम चरणमा करिब एक सय सहभागिहरुले अन्तराष्ट्रिय प्रशिक्षकबाट टेबल टेनिसका विभिन्न अभ्यासहरु सिक्दै आनन्द लिएका थिए ।
यसअघि पनि अन्तराष्ट्रिय प्रशिक्षक रावलले सन् २०२१ र २०२२ मा यस किसिमको कार्यक्रम सफलता पुर्वक आयोजना गरेका थिए ।
कार्यक्रमका सहभागिहरुलाई टेबलटेनिस टि–सर्ट, ब्याट र बल वितरण गरिएको थियो । साताव्यापी कार्यक्रम अन्तर्गत आयोजना गरिएको प्रतियोगिताको यु–१६ व्वाइजमा रतुल गुरुङले वैभव जैनलाई २–१ सेटमा र सोही स्पर्धाको गल्र्समा ओजश्वी श्रेष्ठले निस्था अमात्यलाई २–१ को सेटमा हराउँदैं स्वर्ण जितिन् ।
यु–१४ व्वाईजको फाईनलमा अनमोल गुरुङले कौशल केसीलाई २–० सेट र गल्र्समा नेविदिता कर्णले ऋदधि चौरसियालाई २–१ को सेटमा, यु–१२ व्वाईजमा यर्थाथ बाजेसरियाले कार्तिक अग्रवाललाई २–० को सेटमा र गल्र्स तर्फ ओडिला शाक्यले ग्यासु महर्जनलाई २–० ले हराउँदै स्वर्ण प्राप्त गरिन् ।
विजयी खेलाडीलाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, दक्षिण एसियाली टेबलटेनिस महासंघका महासचिव शंकर गौतम र अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष तेजन सिंहले पुरस्कार वितरण गरेका थिए ।
हरेक वर्ष नेपालमा हुने अन्तराष्ट्रिय स्तरको कार्यक्रमले टेबल टेनिस प्रेमीहरुलाई टेबल टेनिसको सीप सिक्न र अन्वेषण गर्नको लागि प्लेटफर्म प्रदान गर्ने गरेको अध्यक्ष बैद्यले बताए ।
कार्यक्रमलाई सफल बनाउन आइटीटीएफ फाउण्डेशन, स्ट्याग इन्टरनेशनल, अखिल नेपाल टेबल टेनिस संघ, सुमित जैन र सञ्चारकमीहरुलाई अन्तराष्ट्रिय अम्पाएर रावलले धन्यवाद दिए ।