आयुर्वेदका संस्थाले विभिन्न माग राख्दैं सरकारलाई बुझाए ज्ञापनपत्र
Monday, April 24th, 2023, 10:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ बैशाख
आयुर्वेदसँग सम्बन्धित संस्थाहरुले आयुर्वेद क्षेत्रको विकास लागि नीतिगत योजना सहित बजेट व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत नेपाल सरकारलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
सोमबार नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज अध्यक्ष गौरीशंकर मण्डल, राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल अध्यक्ष उदिप श्रेष्ठ र नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बाँके अध्यक्ष देबेन्द्र पौडेलले हस्ताक्षर गरेको ज्ञापन पत्र संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायलाई हस्तान्त्रण गरिएको थियो । आयुर्वेदसँग सम्बन्धित संस्थाहरुले देशव्यापीरुपमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत बाँकेमा बुझाईएको हो ।
ज्ञापन पत्रमा नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र तथा नागरिक आरोग्य अभियान संचालन गर्नको लागि व्यवस्थित रुपमा संचालन गर्नु पर्ने, स्वस्थ जीवन तथा स्वस्थ जीवनशैली कार्यक्रमलाई सुढृढिकरण गर्नुपर्ने, जेष्ठ नागरिक, स्तनपायी आमा, पंचकर्म, ल्याब सेवा, आयुर्वेद स्वास्थ्य शिविर, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रमलाई सुदृढिकरण गर्दै गर्दै प्रदेश तथा स्थानीय तह सम्म बजेट सुचिश्चित गर्नु पर्ने माग गरिएको छ ।
यसैगरी उक्त ज्ञापनपत्रमा मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई प्रभावकारी बनाउनु पर्ने, स्वस्थ नागरिक स्वस्थ समाज र स्वस्थ जीवन अवधारणालाई कार्यन्वयन गर्नु पर्ने, आयुर्वेद चिकित्सालाई मौलिक चिकित्सा पद्धतिमा राख्नुपर्ने, हाल संचालनमा रहेका आयुर्वेद फार्मेसीहरुलाई पुँजी बृद्धि गरि प्रमाणपत्रका तथा अनुभवका आधारमा आयुर्वेद थोक व्यवसाय संचालन गर्न पाउनु पर्ने, आयुर्वेदको बारेमा अनधिकृत भ्रमात्मक प्रचार प्रसार पोल पोलमा भित्ता भित्ता र सार्वजनिक स्थल टासेर गरिएको प्रचारलाई रोक्नु पर्ने माग राख्दै नेपाल सरकारलाई अनुरोध गरिएको छ ।