‘इएनटी’ सेवा अब ब्रिनोजमै दिने तयारी छः प्रदिप शाह
Wednesday, April 26th, 2023, 12:46 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाको फुल्टेक्रामा रहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र नेपालको पुरानो कानको उपचार गर्ने एक मात्र सामुदायिक अस्पतालका रुपमा चिनिन्छ । नेपालगन्जमा रहेको यस अस्पतालले हरेक दिन सयौं बिरामीलाई सेवा दिइरहेको छ । एक साता अघि नयाँ अस्पतालको व्यवस्थापनमा नयाँ कार्यसमिति आएको छ । जसले अस्पताललाई थप सुविधा सम्पन्न बनाउने उद्देश्य सहित योजना बनाएर काम गरिरहेको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र व्यवस्थापन समितिका सचिव प्रदिप शाहसँग अस्पतालको नयाँ योजना र अवस्थाबारेमा गरिएको कालपृष्ठ संवाद ।
नयाँ व्यवस्थापन समिति आएपछि अस्पतालको सेवा सुविधालाई थप चुस्त बनाउन कस्ता योजना बनाउनु भएको छ ?
प्रश्नका लागि धन्यवाद । कान सम्बन्धी सेवा दिने नेपालभरको ठुलो एकमात्र अस्पताल ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र हो । नेपालगन्जका लागि यो गर्वको विषय हो । यसकारण यसको गतिलो व्यवस्थापन हुन जरुरी छ । यसै कुरालाई मध्यनजर गर्दै हामीले अस्पतालको आफ्नै फार्मेसी सन्चालन गरेका छौं । फार्मेसीबाट हुने स–सानो नाफा, नाम दर्ताको रकम लगायतबाट हुने थोरै अर्थले भएपनि हामीले अस्पताललाई व्यवस्थापन गर्न खोजिरहेका छौं र गरिनै रहेका छौं । हामीकहाँ २४ जना कर्मचारीहरुले सेवा दिईरहनु भएको छ । अस्पतालमा अब आवश्यक नयाँ सुविधाहरु क्रमश थप्दै लग्ने हाम्रो योजना छ ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रले कसरी सेवा दिईरहेको छ ?
हामीले दिने सेवा भनेको त कान स्वास्थ्य स्याहार सम्बन्धि उपचार तथा शल्यक्रिया नै हो । अहिले पनि ब्रिनोज कान अस्पतालमा दैनिक १ सय ५० जनाको हाराहारीमा बिरामीहरुलाई उपचार सेवा प्रदान गरिँदै आएको छ । यहाँ पश्चिम नेपालका २०÷२२ जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रका मानिसहरु पनि उपचारका लागि आउँछन् । अस्पतालले कान रोगको उपचारका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिनेदेखि बाँके, बर्दिया र सुर्खेतमा पनि कान स्वास्थ्यका शिविर राखेर उपचार गर्दै आएको छ । यसरी यस अस्पतालले कान सम्बन्धि स्वास्थ्य कार्यक्रमलाई स्थानिय स्तरमा लगेको छ । यो सामुदायिक अस्पताल हो । हामीलाई राज्यले हेरेको छैन । पछिल्ला पाँच बर्षमा कुनैपनि सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले हामीलाई सहयोग गरेका छैनन् । यसर्थ, हामीलाई एकदमै आर्थिक समस्या छ ।
राज्यले के गरिदियो भने अस्पताल सन्चालनमा थप सहजता हुन्छ ?
हामीलाई राज्यले वा स्थानिय तहले जुनसुकै तवरले सहयोग गर्न सक्छ । अँझ हामी त के भन्छौं भने, हामीलाई बजेट भन्दापनि कान स्वास्थ्य स्याहार सम्बन्धि उपचार तथा शल्यक्रियामा चाहिने प्रविधि र सामाग्रीको जोहो गरिदिन सकेमात्रै पनि हामी कान स्वास्थ्य स्याहार सम्बन्धि कार्यक्रमलाई अँझ प्रभावकारी रुपमा स्थानियस्तरमा लैजान सक्छौं ।
पछिल्लो समय सञ्चारमाध्यममा आईरहेको विवादबारे यहाँको के धारणा छ ?
यस विषयमा के छ भने, हाम्रा केहि साथीहरुले आफ्नो असन्तुष्टि व्यक्त गर्न नजान्दा विवाद जस्तो लागेको भएपनि यसमा हाम्रो भन्नु केहि छैन । वहाँहरु आफैले नै अस्पतालको बदनाम गर्न अनेक कार्य गर्दै आउनु भएको छ । हामीले अस्पतालका पुर्व कर्मचारी पुरन थारुलाई अवकास दिएका हौं । उहाँलाई चित्त नबुझे अदालत जानुभए हुन्छ । तर, उहाँले संस्थाको विधाननै गलत छ भन्दै हिड्नु भएको रहेछ । त्यसो हो भने हिजोका दिनमा किन त्यो प्रश्न जन्मेन । तर, अहिले आफुले मनलाग्दी गर्न नपाएको झोंकमा हामीलाई गलत भन्न त पाईएन नि त । विधान लेखेकै उहाँले हो । अनि, अरुलाई दोस लगाएर आफु पन्छिन कहाँ पाईन्छ ? संस्थामा भएको बेला वहाँले आफु मोटाउने संस्था सकिने हर्कतहरु गर्नुभएको थियो । अव त्यसो गर्न नपाउने भएपछि आक्रोस पोख्नुभएको मात्रै हो अरु केहि होईन ।
अब अस्पतालमा के कस्ता नयाँ सेवा सुविधा थपिदैछन् ?
सेवाभाव नै हाम्रो मुल ध्येय हो । कुनैपनि बहानामा सेवाग्राहीले सेवा पाउँनुपर्छ । हामी त्यसकै लागि लागिपरेका छौं । यसकारण अब हामी सेवा विस्तार गर्ने योजनामा काम गरिरहेका छौं । हामीसंग दक्ष जनशक्ति प्रर्याप्त छन् । अबको केहि समयमा हामी नाक, कान र घाँटी(इएनटी)को उपचार यसै अस्पतालबाट गर्ने हाम्रो उद्देश्य हो । त्यसो भयो भने अस्पताललाई खर्च उठ्ने र सेवाग्राहीले पनि एकै स्थानमा सेवा लिन सक्ने हुन्छ ।