एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा
Wednesday, April 26th, 2023, 7:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
ललितपुर, १३ वैशाख
विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार न्यु डायमण्ड क्लबलाई हराउँदै एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यु डायमण्डलाई ३–२ को सेटमा हराएको हो । एपीएफले न्यु डायमण्डलाई १७–२५, २५–१९, २३–२५, २५–२० र १५–१० ले हराएको हो । जितसँगै एपीएफ समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेको छ । न्यु डायमण्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
अब एपीएफले बिहीबार हुने सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । त्यस्तै न्यु डायमण्डले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुरुषतर्फ एपीएफले पाटन मल्टिपल क्याम्पसलाई सोझो सेटमा हराएको छ । एपीएफले पाटनलाई २५–१७, २५–१० र २५–१८ ले हराएको हो ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ललितपुर महानगरपालिकालाई सोझो सेटमा हराएको छ । आर्मीले ललितपुरमाथि २५–११, २५–१७ र २५–२१ सेटले जित हासिल गरेको छ । प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।