टेबल टप गर्दै नेपाल सेमिफाइनलमा
Thursday, April 27th, 2023, 6:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १४ बैशाख
राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारलाई हराउदै नेपाल अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको छ । टियु मैदानमा भएको खेलमा नेपाल ६८ रनले विजयी भएको हो । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५÷१५ तथा अमिर फरिकले १४ रन बनाए ।
ईनिङको पहिलो बलमा नै छक्का प्रहार गरेर नेपाललाई केही दबाब दिएको कतारले लगातार विकेट गुमाउदा खेल गुमायो । नेपालका लागि सन्दपि लामिछानेले ५ तथा सोमपाल कामीले ३ विकेट लिए । सन्दीपले ९ दशमलब १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिएका थिए ।
ललितनारायण राजवंशीले २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए ।
दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११÷११ रन बनाए । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो । कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३÷३ तथा गयान मुनवारा २ विकेट लिए । चार खेलमा तीन जित र एक खेलमा अंक बाडेको नेपाल समूह ए को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ ।
नेपालले सेमिफाइनलमा कुवेतसँग खेल्ने
एसिसी प्रिमियर कपको सेमिफाइनल समिकरण पूरा भएको छ । मुलपानी मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा २४२ रनमा अलआउट भयो । जितसँगै कुवेत अन्तिम चारमा पुग्दा हङकङ भने बाहिरियो ।
समूह ‘ए’ बाट नेपाल समूह विजेता र ओमान उपविजेता बनेर अन्तिम चारमा पुगे । बिहिबार हङकङलाई पराजित गरेको कुवेत समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुग्यो । समूहमा युएई भने विजेता बन्यो । अब सेमिफाइनलमा नेपाल र कुवेत तथा युएई र ओमानबीच खेल हुनेछ । दुवै सेमिफाइनल आगामी शनिबार हुनेछन् । समूहमा नेपालले ७ अंक जोड्दा ओमानले ६ अंक जोड्यो । यस्तै समूह ‘बी’ मा युएई र कुवेतले समान ६–६ अंक जोडे । रनरेटमा युएई अघि रह्यो। ५ अंक जोडेको हङकङ भने बाहिरियो । फाइनल आगामी सोमबार हुनेछ भने आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । एसिया कपमा प्रिमियर कप च्याम्पियन टिम भारत र पाकिस्तान सम्मिलित समूहमा पर्नेछ ।