समयमै सडक नबने सडक डिभिजनमा तालाबन्दी गर्ने चेतावनी
Thursday, April 27th, 2023, 8:50 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १४ बैशाख
निर्धारित समयमै बाटो नबन्दा स्थानीय जनताले सास्ती पाएको भन्दै खजुरा गाउँपालिकाका जनप्रतिनिधिहरुले सडक डिभिजन कार्यालय नेपालगन्जलाई ध्यानाकर्षण गराएका छन् । १८ सय मिटर बाटो निमार्णको काम बर्षौं बितिसक्दा पुराहुन नसक्दा स्थानीय जनता आजित भएको भन्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान र उपाध्यक्ष मन्जु मल्लको नेतृत्वमा सम्पुर्ण कार्यपालिकाको टिमनै सडक डिभिजन कार्यालय नेपालगन्जमा पुगेर ध्यानाकर्षण गराएको हो ।
गौघाट–परसपुर सडक खण्ड दैनिक मानिसहरुको आवात जावत गर्ने चाप भएको सडकमा पर्छ । जुन सडकले बर्दियाको बढैयाताल गाउँपालिकालाई समेत जोड्ने गरेको छ । गौघाट–परसपुर सडक खण्डको स्तर उन्नती हुन नसकेको दशक पुग्न लागिसकेको छ । पुरानो सडक बिग्रिएपछि नयाँ सडक बनाउने काम वर्षोदेखि अलपत्र परेपछि स्थानीयहरुले दैनिक सास्ती भोग्नु परेको बताउँछिन् खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल ।
अब आफुहरुको अपिल सो कार्यालयले नसुनेको खण्डमा सम्पुर्ण खजुरावासी मिलेर सडक डिभिजनको कार्यालय नै घेराउ गर्न बाध्यहुने खजुरा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले बताए ।
उनले भने,– ‘यो खजुराको मात्रै सवाल होईन । यो सडक समयमै निर्माण सम्पन्न नहुँदा बाँके बर्दियाका सबै यात्रु प्रभावित हुन्छन् । यो लम्बाईका हिसावले जम्मा १८ सय मिटर मात्रै छ । तर, निर्माण सम्झौता भएको छैठौं बर्षमा पनि काम पुरा हुन सकेको छैन । विकास निर्माणको गति यहि हुने हो भने, हामीले विकास कहिले देख्ने ?’
‘अब १८ सय मिटर सडक बनाउन १८ बर्ष लाग्ने यो त संसारको आठौं आश्चार्य भयो । हामी यो प्रवृत्ती देखि आजित भैसक्यौं । निर्माण कम्पनिलाई काम गर्दा केहि अफ्ठ्यारो भएको हो भने, हामीलाई भन्न प¥यो । हामी सहजिकरणको भुमिका निर्वाह गर्न तयार छौं । होईन भने हामीलाई बाटो चाहियो ।’– उनले आक्रोश पोखे ।
सो अवसरमा खजुरा बजारको सडक निर्माण कार्य रोकिएको विषय उल्लेख गर्दै गाउँपालिका प्रमुख तुफानले सो सडक निर्माण गरिरहेको कम्पनी लाई कारवाहीको प्रक्रिया अगाडी बढाउनसडक डिभिजन कार्यालय नेपालगन्जका कार्यालय प्रमुख निरज शाक्यसँग आग्रह गरे । उनले निर्माण कम्पनिले पटक–पटक म्याद थप गर्दापनि सो सडक निर्माण प्रक्रिया अघि नबढाएको कुरा उल्लेख गर्दै कार्यालय प्रमुख शाक्यसँग अब कुनैपनि हालतमा सोहि निर्माण कम्पनिलाई सडक निर्माणको म्याद थप नगर्न अपिल गरे ।
साथै उनले, परसपुर–गौघाट सडक निर्माणको काम समेत सम्झौता भएको ११ महिनासम्म पनि ७ प्रतिशत मात्रै कार्यप्रगति भएको भन्दै सो सडक निर्माणका सम्बन्धमा आइतबारसम्म कामशुरु नगरे अन्य प्रक्रिया अघि बढाउन समेत भने ।
‘सम्झौता भएको ११ महिना सम्म पनि ७ प्रतिशत मात्रै काम भएको छ । यस्तो गतिमा काम भएको खण्डमा बाँकी १३ महिनामा ९३ प्रतिशत काम हुन्छ भनेर हामीले कसरी विश्वस्त हुने ? यसकारण हामीलाई समयमै निर्माण सम्पन्न गर्न सकिने खालको कार्यातालिका उपलब्ध भयो भने मात्रै हामी विश्वस्त हुन्छौं ।’
उनले पेडारी नालापुलको समेत निर्माणकार्यलाई यथाशीघ्र अगाडि बढाउन डिभिजन प्रमुख शाक्यलाई ध्यानाकर्षण गराएका छन् ।
‘खजुरा बजारको सडक निर्माण कार्य थोरै सुरु गर्ने अनि बन्द गर्ने प्रवृति देखा परेको छ । यसको निराकरणको लागि संघिय सरकारको निकायमा हामी आईपुगेका हौं । यसको यथाशिघ्र समाधानको बाटो खोजियोस । एक हप्ताभित्र हाम्रो आग्रहमा सुनुवाई नभएको खण्डमा हामी आन्दोलन गर्न बाध्य हुने छौं ।’– अध्यक्ष तुफनले भने ।
खजुरा गाउँपालिकाका जनप्रतिनिधि र पत्रकारसमेतको जिज्ञासालाई सम्बोधन गर्दै डिभिजन प्रमुख शाक्यले कुनैपनि हालतमा विधि संवत तरिकाले कारवाहीको प्रक्रिया अघि बढाईने प्रतिबद्वता जाहेर गरे ।

…….
डिभिजन प्रमुख शाक्यले सो सडक गत पुष मसान्तमा सकिसक्नुपर्ने सम्झौतामा उल्लेख भएको बताउँदै खजुराको १८ सय मिटर सडक निर्माण कम्पनिलाई अहिले प्रतिदिन शुन्य दशमलव शुन्य पाँचका दरले जरिवानामा पारिराखेको अवस्था अवगत गराए ।
सो सम्बन्धमा आफुले धेरै पटक ताकेता गरिसकेको बताउँदै शाक्यले अत्ति भएपछि विभागमा समेत जानकारी गराई छलफल समेत गरिसकेको बताए ।
उनले भने,–‘उनिहरुले थुप्रै पटक ढाँटीसकेको अवस्था छ । अब हामी नियमानुसार ठेक्का तोड्ने प्रक्रियामा जानुपर्ने हुन्छ । त्यो गर्न पनि हामी पछि हट्दैनौं ।जहाँसम्म परसपुर–गौघाट सडक निर्माणको कामको कुरा छ । यहाँपनि निर्माण कम्पनिले धेरै बाहानाबाजी गरेको अवस्था भने पक्कै हो । त्यसका लागि बुधबार मात्रै स्पष्टीकरणका लागि एउटा पत्र पठाएका छौं । आईतबारबाट पनि काम सुरु नभएको खण्डमा निर्माण कम्पनिलाई पेश्की स्वरुप दिईएको रकम हामी फिर्ता लिने छौं ।’
