भ्रामक प्रचारले स्वास्थ्यमा गम्भिर खेलवाड
Saturday, April 29th, 2023, 4:54 pm
Kalpristha
जनसेवा क्लिनिक जस्तै भारतीय सीमा क्षेत्रका क्लिनिकहरुले नेपालमा अवैध रुपमा आफनो प्रचार प्रसार गरिरहेका छन् । नेपालको आधिकारिक निकायबाट अनुमति नलिईकन यस्ता प्रचार गर्ने क्लिनिकहरुले दैनिक रुपमा नेपाली नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् ।
कमल खत्री
नेपालगन्ज, १५ वैशाख
नेपालगन्ज विशालनगर चोक नजिकैको विद्युत पोलमा एउटा रंगिन पम्पलेट टासिएको छ । जसमा लेखिएको छ ‘जनसेवा पाइल्स क्लिनिक, पाइल्स, फिस्टुला, फिसर उपचार केन्द्र । बिना आँपरेशन १०० प्रतिसत गारन्टी उपचार गरिन्छ ।’ विशाल नगरमा जस्तै जनसेवा क्लिनिकका नाममा नेपालगन्जसँगै बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लाहरुमा यस्ता पोस्टर विद्युतका पोल र विभिन्न स्थानमा टासिएको देखिन्छ । जनसेवा क्लिनिक जस्तै भारतीय सीमा क्षेत्रका क्लिनिकहरुले नेपालमा अवैध रुपमा आफनो प्रचार प्रसार गरिरहेका छन् । नेपालको आधिकारिक निकायबाट अनुमति नलिईकन यस्ता प्रचार गर्ने क्लिनिकहरुले दैनिक रुपमा नेपाली नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् ।
भ्रामक प्रचार–प्रसार गर्दै बिरामीहरुलाई आर्कर्षित गरिरहेका यस्ता क्लिनिकका कारण थुप्रै नेपालीको ज्यान जोखिममा पर्ने गरेको छ । कतिपयको अवस्था त गम्भिर समेत भएका घटना छन् । भारतीय सिमा क्षेत्रमा खुलेका क्लिनिकहरुका कारण हरेक दिन नेपालीहरुको स्वास्थ्यमा गम्भिर खेलवाड भैरहेको देखिन्छ । तर यसरी अवैधानिक रुपमा भारतीय क्लिनिकहरुले प्रचार गरिरहँदा नेपालका आधिकारिक निकाय भने मौन देखिन्छन् । नेपालमा कुनै पनि विदेशी कम्पनी र उत्पादनको प्रचार प्रसार गर्नु अघि अनुमति लिनु पर्ने प्रावधान हुन्छ । तर त्यसलाई कसले रोक्ने भन्नेमै अन्योलता छ ।
आयुर्वेदका क्षेत्रमा क्रियाशिल संस्थाले यसबारेमा असन्तुष्टी व्यक्त गरेका छन् । गत सोमबार नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल र नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बाँकेले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बाँके मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । जसमा अनधिकृत भ्रमात्मक प्रचार प्रसार पोल पोल, भित्ता, भित्ता तथा सार्वजनिक स्थलको वरपर पम्पलेट टाँसी ग्यारेन्टीका साथ उपचार गरिन्छ भन्ने भ्रमात्मक प्रचारलाई रोक्न अपिल गरिएको छ । यसरी भ्रामक प्रचार प्रसार गर्ने कार्यलाई रोक्ने मुख्य जिम्मेवारी प्रमुख जिल्ला अधिकारीसँगै, स्थानीय तह, औषधि व्यवस्था विभाग, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र लगायतका संस्थाहरुको जिम्मेवारी हो । तर यसमा ति कुनै पनि निकायले ध्यान दिन सकेका छैनन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले अवैध रुपमा गरिएका भ्रमात्मक प्रचारलाई रोक्न आफुले पहल गर्ने बताएका छन् । तर कहिले देखि जिल्ला प्रशासनले सक्रियता देखाउने हो त्यसको टुङ्गो छैन ।
नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले पनि भारतीय क्लिनिकले गलत प्रचार गर्दै उपचारको नाममा नेपालीको स्वास्थ्यमा गम्भिर समस्या सृजना गरेको भन्दै त्यसलाई रोक्ने बताउँछन् । तर कुनै पनि निकायले यसलाई गम्भिरताका साथ हेरेको छैन् । नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका अध्यक्ष मैकुलाल वाल्मिकीले हरेक महिना करिब १० जना बिरामी यस्ता प्रचार गरिएका ठाउँमा उपचार गरेर निको नभएपछि आफनो अस्पतालमा आउने गरेको बताउँछन् । कतिपय बिरामी त गलत उपचार कारण क्यान्सरको सिकार समेत भैरहेको वाल्मिकीले बताए ।
यसरी ग्यारेन्टी दिएर उपचार गर्ने भने भ्रामक प्रचार गर्दै पम्पलेट टास्ने एउटा गिरोहनै सक्रिय रहेको सरोकारवाल निकायहरु बताँछन । उनीहरुले कति बेला टास्छन् त्यसको सुईको समेत नपाउने गरेको बताउँछन् । कोहलपुर उप–महानगरपालिकाले यसरी भ्रामक प्रचार गरेर टासिएका पम्पलेटहरु हटाउने प्रयास गरेको छ । सरकारी निकायले कडाईका साथ यसलाई निगरानी गर्नु पर्ने आवश्यकता रहेको बताउँछन् नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बाँके अध्यक्ष देबेन्द्र पौडेल । उनले भने,‘हामीले यस्तो भ्रामक प्रचार गरेर नेपाली जनताको स्वास्थ्यमा गम्भिर रुपमा खेलवाड भैरहेको बारेमा सबै निकायलाई जानकारी गराईसकेका छौं । तर त्यसमा कारबाही हुन सकेको छैन । यो दुःखको कुरा हो । केहि दिन अघि हामीले नेपाल सरकारलाई ध्यानाकर्षण गराउने बेला यस विषयमा कुरा उठाएका छौं । अब केहि कारबाही हुन्छ भन्ने हामीले विश्वास लिएका छौं ।’
सन्चो नभए पैसा फिर्ता जस्ता मेडिकल साईन्समा नभएको कुरा प्रचार गर्दा पनि त्यसलाई रोक्न नसक्नु दुःखद कुरा भएकोले नेपाल सरकारलाई यस बारेमा ध्यानाकर्षण गराएको बताउँछन राष्ट्रिय आयुर्वेद एसोसियसन नेपालका अध्यक्ष उदिप श्रेष्ठ । यसलाई रोक्नका लागि औषधी व्यवस्था विभाग, नेपाल आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला प्रशासन र स्थानीय निकाय सक्रिय भए यस्ता भ्रामक प्रचारबाट जनताको स्वास्थ्य भैरहेको गम्भिर असरलाई रोक्न सकिने श्रेष्ठले धारणा राखे ।