रनवेमै १६८ यात्रु बोकेको विमान चिप्लिएपछि..
Tuesday, January 16th, 2018, 5:02 pm
amit
काठमाडौं । टर्कीको ट्राब्जोन विमानस्थलमा १६८ यात्रु बोकेको विमान रनवेमै चिप्लिएपछि समुद्र नजिकको माटोको पहाडमा पुगी अड्कीएको हो । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार समुद्र नजिकैको उचाईबाट तल खस्ने क्रममा माटैमाटोको बीच गएर विमान रोकिएको थियो ।
टर्कीको स्थानीय संचार एजेन्सीले खबर गरे अनुसार विमानका सम्पूर्ण यात्रु , पाइलट लगायत अन्य कर्मचारीहरु सबैलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
राजधानी अङ्कराबाट उडान भरेको सो विमान अवतरण गर्ने समयमा रनवेबाट चिप्लिएर त्यस्तो दुर्घटनामा पर्न गएको बताइएको छ । विमान सानो पहाडबाट समुद्रतर्फ चिप्लिँदै जाँदा अत्तिएका यात्रुहरु २० मिनेटसम्म मद्दतका लागि विमान भित्रै पर्खिएर बसेको एक यात्रुले बताइन् ।
उनका अनुसार विमान अवतरण भइसकेपछि एउटा ठूलो अवाज सुनिएको थियो र त्यसलगत्तै विमान हल्लिन थालेपछि सबै यात्रुहरुमाझ कोलाहल मच्चिएको थियो ।
उनले त्यस भयानक क्षणलाई याद गर्दै भनिन् , ‘सबै मानिसहरु चिच्याइरहेका थिए । मैले सोेचेँ आज मेरो अन्तिम दिन हो ।’ त्यस्तै अर्का यात्रुले भने, ‘वास्तवमा हामी कसैलाई केही नहुनु कुनै चमत्कार भन्दा कम थिएन किनकी विमान त्यहीँ पड्किएको भए वा समुद्रमा खसेको भए सायद हामी बाँच्ने थिएनौँ ।’
घटनापछि स्थानीय पुलिसले पाइलटहरुको परीक्षण गर्दा उनीहरुमा नसालु पदार्थको कुनै संकेत नदेखिएको बताएको छ । दु्ई मध्येका एक पाइलटका अनुसार अवतरण गर्नासाथै विमानको दाहिने इन्जिनको गति अचानक बढ्दै गएको थियो । दुर्घटनाको वास्तविक कारण अझै पत्ता नलागेको बताइएको छ ।