जमुनहा गाउँमा आगलागी : ११ घर जले
Sunday, May 28th, 2023, 9:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ जेठ
बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनहा गाउँमा आगलागी भएको छ । आइतबार दिउँसो १२ बजे भएको आगलागीमा ११ घरसहित एक गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको हो ।
भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले आगलागीका कारण १७ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए । सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगनजको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
१२ बजे सुरु भएको आगलागी ३ बजेमात्रै नियन्त्रणमा आएको हो । आगलागी भएको जानकारी पाउने बित्तिकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह सहितको टिम दमकल लिएर आगो नियन्त्रण गर्न पुगेका थिए ।
समयमै घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिएकोले मानवीय क्षति नभए पनि क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको उनले बताए ।
साथै उनले पीडितहरूलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको समेत बताए । नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक वर्ष दर्जनौँ आगलागीको घटना हुने गरेको छ ।