सरकारी भवनबाटै सेवा दिने तयारीमा यातायात कार्यालय
Wednesday, October 8th, 2025, 11:44 am
Kalpristha
कालपृष्ठ प्रभाव
भिष्म लोध
नेपालगन्ज, २१ असोज
यातायात व्यवस्था कार्यालय नेपालगन्जले अब सरकारी कार्यालयबाट आफनो सेवा दिने भएको छ । निजी भाडामा रहेको नेपालगन्जको यातायात कार्यालय नेपालगन्ज–१८ कारकाँदोस्थित साविक सीप विकास तालिम केन्द्र रहेको भवनबाट सेवा दिने तयारी गरिरहेको छ । आगामी आइतबारदेखि नयाँ कार्यालयबाट आफना नियमित सेवाहरु दिने तयारी भैरहेको यातायात व्यवस्था कार्यालय नेपालगन्जले जनाएको छ ।
हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ को बाँके गाउँमा रहेको निजी भवनबाट मासिक भाडा तिनेर सेवा दिइरहेको थियो । नेपालगन्जमा दर्जन भन्दा बढी सरकारी कार्यालयका संरचना प्रयोग विहिन भएको अवस्थामा नेपालगन्जको यातायात कार्यालय भाडाको घरमा रहेर काम गरिरहेको थियो । जसको स्थानीयस्तरबाट बिरोध हुँदै समेत आएको थियो । यस बारेमा कालपृष्ठ दैनिकले निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो ।
जेन्जी आन्दोलनका क्रममा हालको कार्यालय भवन पूर्णरुपमा क्षति भएपछि नयाँ स्थानबाट सेवा दिने बारेमा सरकारी अधिकारीहरुले छलफल गरेका थिए । यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख कालीदास बस्यालले सरकारी भवनबाटै सेवा दिने गरी तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नु भयो, ‘नयाँ स्थानबाट सेवा दिने हामीले तयारी गरिरहेका छौं । कारकाँदोमा रहेको सामाजिक विकास डिभिजन परिसरमा सर्ने तयारी भैरहेको छ । आइतबारदेखि त्यहाँबाट काम गर्ने हाम्रो योजना छ ।’
यातायात व्यवस्था कार्यालय नेपालगन्ज लामो समयदेखि स्थायी रुपमा व्यवस्थापन हुन सकेको थिएन । जिल्लाको सदरमुकाम नेपालगन्जमा यसलाई स्थायी रुपमा व्यवस्थापन गर्न सकिने आधार देखाइएको भएपनि कार्यालयलाई भाडामा बस्न बाध्य बनाइएको थियो । हाल रहेको कार्यालय सामाजिक विकासमा सर्ने भएपछि राज्यको वार्षिक १२ लाख बढी रुपैयाँ जोगिने भएको छ । मासिक एक लाख रुपैयाँ भाडा तिरेर कार्यालय संचालन गरिएको थियो । कार्यालयका लेखा प्रमुख दिनेश सिंहले सरकारी भवनमै सर्न लागेको हुँदा अब मासिक भाडा वापतको रकम बचत हुने बताउनुभयो ।

………..
सरकारको यो निर्णयले थोरै भएपनि सरकारले तिर्ने भाडा जोगिनु राम्रो भएको सिंहले बताउनुभयो । साविक सीप विकास कार्यालयले प्रयोग गर्ने भवनबाट यातायातको सेवा प्रवाह गर्ने तयारी गरिएको हो । कार्यालय व्यवस्थापन गर्नको लागि भनेर एक कार्यदल बनाएर, व्यवस्थापन गर्न सकिने सम्भावनाको खोजी गरिएको थियो । उक्त कार्यदलले कार्यालयलाई स्थायीरुपमा व्यवस्थापन गर्न सकिने आधारसहितको प्रतिवेदन प्रस्तुत गरिसकेको छ । तर कार्यदलले पेश गरेको सम्भावनाका बारेमा नेतृत्वकर्ताले पहल नगर्दा भाडामा रहेको कार्यालय भवन निरन्तर भाडामै बस्न बाध्य रहेको थियो ।

……….
बाँके गाउँमा रहेको कार्यालय सुरुदेखि नै सेवाग्राहीका दृष्टिकोणले अपायक ठाउँमा थियो । कार्यालय त्यहाँ सर्ने बेला कतिपय सेवाग्राही यस कार्यालयका लागि उक्त ठाउँ अपायक भनेर बिरोध पनि गरेका थिए । तर अनन्तः कार्यालयलाई त्यहाँ भाडामा राखेर संचालन गरिएको थियो । त्यसअघि नेपालगन्ज उपमहानरपालिका वडा नम्बर १८ को कारकाँदोस्थित सुर्खेतरोडको एक घरबाट कार्यालय संचालन भएको थियो । त्यतिबेला कार्यालय भाडामा संचालन गरिएपनि सबैका लागि पायक पर्ने ठाउँमा भने रहेको थियो ।
कार्यालयलाई पायक पर्ने ठाउँमा व्यवस्थापन गर्न पहल थालिएको वषौं भएपनि नेतृत्वको उदासिनताका कारण हुन सकेको थिएन । नेपालगन्जका अन्य सरकारी भवनमा पनि कार्यालय सार्न सकिने कार्यदलले सुझाव दिएको यो विषयले प्राथमिकता नपाउँदा कालपृष्ठ दैनिकले निरन्तररुपमा यो विषयलाई उठान गरिरहेको थियो ।
कार्यालय व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गर्न नेपालगन्ज उपमहानगरपालिकाले गएको माघ महिनामै एक कार्यदल बनाएको थियो । नेपालगन्ज वडा नम्बर १ का वडा अध्यक्ष एवं उपमहानरपालिकाका प्रवक्ता प्रमोद रिजालको संयोजकत्वमा रहेको कार्यदलले उपयुक्त स्थानको खोजी गरी सुझावसहितको प्रतिवेदन पनि पेश गरेको थियो ।
प्रतिवेदनले हाल रहेको सामाजिक विकास डिभिजन र सहकारी प्रशिक्षणको कार्यालयमा सार्न सकिने सुझाएको थियो । कार्यदलले कारकाँदोस्थित डिभिजन वा प्रशिक्षण कार्यालयमा यातायातलाई सार्न सकिए भाडाबापतको सरकारी ढुकुटी पनि जोगाउन सकिने र छेउँमै रहेको जनकपुर चुरोट कारखानाको १२ कठ्ठा जग्गा प्रयोग गरेर हाल कोहलपुरमा हुँदै आएको ट्रायलको कार्य संचालन गर्न सकिने सुझाएको थियो ।
यसका साथै प्रतिवेदनले स्थायीरुपमा यातायात कार्यालय भवन निर्माण गर्नका लागि १८ नम्बर वडामै रहेको सोल्टी होटेल नजिकैको सरकारी जग्गाको प्रयोग गर्न सकिने पनि सुझाव पेश गरेको थियो । तर कार्यदलले काम गर्न ढिलाई गरेका कारण कार्यालय सर्न सकेको थिएन । जेनजी आन्दोलनपछि लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले तत्काल अन्य सरकारी कार्यालयबाट सेवा सुचारु गर्न निर्देशन दिनु भएको थियो । त्यसपछि कार्यालयले कारकाँदोबाट सेवा दिने प्रक्रियालाई अगाडी बढाएको थियो ।