गणतन्त्र दिवसमा कांग्रेस बाँकेद्वारा दीप प्रज्ज्वलन
Monday, May 29th, 2023, 8:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ जेठ
नेपाली कांग्रेस बाँकेले १५औं गणतन्त्र दिवसको अवसरमा दीप प्रज्ज्वलन गरेको छ । नेपालगञ्जस्थित विपी चोकमा आज साँझ दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले देशका निमुखा जनताले महसूस गर्ने गरी गणतन्त्रको असल र कुशल अभ्यासमा जोड दिए । राजतन्त्रको स:मूल नष्ट गरेर ल्याइएको गणतन्त्रले भुइँ मान्छेहरुको जीवनमा परिवर्तन भएको देखिनुपर्ने बताए ।
व्यवस्था परिवर्तन भएपनि नेपाली जनताको वास्तविक अवस्थामा अपेक्षित परिवर्तन नदेखिए जनतामा निराशा छाउने बताउँदै उनले राजनीतिक दलहरुले जन–आकांक्षालाई सम्बोधन गर्न गम्भीरता देखाउनुपर्ने बताए । भ्रष्टाचार निर्मूल गर्ने गरी शून्य सहनशिलताको नीतिलाई अंगिकार गर्नुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारले मुलुकलाई अधो गतितिर लगिरहेको बताए ।
दीप प्रज्ज्वलन कार्यक्रममा निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री सुरेन्द्रबहादुर हमाल लगायत नेता कार्यकर्ता उपस्थित थिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।