‘नागरिकता सम्बन्धी समस्या नीतिगत रुपमा सम्बोधन गरिनुपर्छ’
Tuesday, May 30th, 2023, 8:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १६ जेठ
खजुरा गाउँपालिका वडा नम्बर २ मा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भक्ता र नयाँ नेपाली नागरिकता प्राप्ती सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ ले आयोजना गरेको अभिमुखिकरणका सहभागिलाई बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता हरि प्रसाद शर्मा, वडा अध्यक्ष धनीराम ओली, वडा सचिव तारा प्रसाद अधिकारीले सहजिकरण गरेका थिए । अभिमुखिकरणमा वडा भित्रका राजनिति दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, टोल कमिटिका अध्यक्ष, पत्रकार, युवा, किशोरी तथा बाल क्लबका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । अभिमुखिकरणमा सहायक प्रमुख जिल्ला अधिकारी शर्माले नागरिकता प्राप्ती सम्बन्धी कानुनी व्यवस्थाहरुको बारेमा, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता प्राप्ती सम्बन्धी विषयमा वडा सचिव अधिकारीले सहजिकरण गरेका थिए । अभिमुखिकरणमा ५० जना स्थानीय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
शर्माले बाँकेमा पहिलो पटक खजुराको २ नम्बर वडाले नागरिकता प्राप्ती सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरेकोमा वडा परिवारलाई धन्यवाद दिए । नागरिकता सम्बन्धी नयाँ ऐन समयमा नआउँदा नागरिकता प्रदान गर्न थुप्रै कानुनी जटिलता रहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
उनले भने, ‘७२ सालमा नयाँ संविधान आयो । तर हामीले ६३ सालको नागरिकता ऐन अनुसार काम गरिरहेका छौं । संविधानमा राखिएका प्रावधानलाई सम्बोधन गरेर २०६३ सालतिरै नागरिकता सम्बन्धी नयाँ ऐन आउनु पर्ने हो । त्यो ढिलो भयो ।’
देशभरमा जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका करिब ५ लाख सन्तानहरुले नागरिकता नपाएको अवस्था रहेको उनले बताए । कानुनी आधार नहुँदा वडा, जिल्ला प्रशासन कार्यालयलाई कानुनी जटिलताको सामना गर्नु परेको शर्माले अभिमुखिकरण कार्यक्रममा अवगत गराए । उनले थपे, ‘कानुनी प्रमाण बिना वडा कार्यालय, प्रहरी, प्रशासन कसैले काम गर्न सक्दैन । यी समस्यालाई नितिगत रुपमा सम्बोधन गर्नुपर्छ । मन्त्रालय तहबाटै यो समस्याको समाधान हुनु पर्छ । कोहि पनि नागरिक नागरिता बिहिन हुन नपरोस भन्नेमा हामी सहमत छौं । तर कानुनी आधार नहुँदा नागरिता प्राप्तीमा अझै समस्या छ ।’
कानुनमा स्पष्ट रुपमा उल्लेख गरिएपनि समाजमा व्यवहारिक जटिलताहरु थुप्रै रहेकोले नागरिकता सम्बन्धी कानुनी व्यवस्थाहरुको बारेमा सरोकारवालाहरुले जानकारी राख्नु पर्ने आवश्यकता महसुस गर्दै अभिमुखिकरण कार्यक्रम राखिएको वडा अध्यक्ष ओलीले बताए ।
उनले भने,‘हामी कुनै कुराको अभिलेख राख्दैनौं । व्यक्तिगत घटना दर्ता गर्नु पर्ने नियम सरकारले २०३४ सालमा ल्याएको हो । ३५ दिन भित्र घटना दर्ता कुनै शुल्क नलाग्ने व्यवस्था छ । विवाह हुने बित्तिकै विवाह दर्ता गर्नु प¥यो, जन्म हुने बित्तिकै जन्म दर्ता गर्नु प¥यो । मृृत्यु भएपछि मृत्यु दर्ता गर्नु पयो । तर आवश्यक नपरेसम्म हामी घटना दर्ता गदैनौं ।’ आफनो वडामा ४० वर्ष देखि बसोबास गरिरहेका व्यक्ति जसको कुनै आफन्त परिवार नभएका व्यक्तिहरु जस्ता थुप्रै कानुनी रुपमा समस्या देखिएका व्यक्तिले नागरिकता प्राप्त गर्न नसकेको ओलीले जानकारी गराए । वडामा नागरिकताको बारेमा आएका जटिल समस्याहरु समाधान गर्न सहज होस भनेर पनि अभिमुखिकरणको आयोजना गरिएको वडा सचिव अधिकारीले बताए । वडा सचिव अधिकारीले व्यक्तिगत घटना दर्ताको महत्व, यसका प्रक्रिया, सामाजिक सुरक्षा भत्ता प्राप्ती गर्ने आधारहरु, प्रावधानहरु र समस्याहरुको बारेमा सहजीकरण गरेका थिए ।
https://fb.watch/kRNjkRqwqW/

…………..