६ करोडको बत्ति जडान गर्दै नेपालगन्ज
Wednesday, May 31st, 2023, 5:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ जेठ
नेपालगन्ज उप–महानगरपालिकाको जमुनाह नाकादेखि राझासम्म सडक बत्ति जडानको काम भईरहेको छ । नेपालगन्जलाई उज्यालो नगर बनाउने योजनाका साथ संघिय सरकारको सहयोगमा सडक बत्ति जडानको काम भईरहेको हो ।
यहि असार सम्ममा नेपालगन्जका सडकमा बत्ति बल्ने गरि सो काम तिव्रगतिमा अघि बढीरहेको नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुखप्रशान्त विष्टले बताए ।
नेपालगन्जको सुर्खेत रोडमा जडान गरिएका सोलार बत्ती मर्मत कार्य अघि बढेसंगै नेपालगन्ज पुन: उज्यालो हुने बताउदै नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख विष्टले नगर क्षेत्रलाई उज्यालो बनाउने आफ्नो संकल्प समेत पुरा हुने बताए ।
‘सडकमानयाँ बत्ती जडान गरेर शहरलाई उज्यालो बनाउने उपमहानगरपालिकाको योजना छ, यसका लागि काम भइरहेको छ,’ – उनले भने । ‘यो संघिय सरकारको बजेट मार्फत हामीले सडक बत्ति जडान गरिरहेका छौं । पोल गाड्ने काम अवको एक महिनामा सकिन्छ । त्यो काम सकिएसंगै बत्ति पनि जडान हुने छ । हामी कहाँ करिब चार सय बत्ति जडान हुनेछन्,’–उनले भने ।
यसका साथै नगरको न्युरोड देखि बषपार्क निस्किने बाटो सम्ममा समेत सडक बत्ति जडान भईरहेको उनले जानकारी दिए । त्यससँगै आगामी बर्षहरुमा नेपालगन्जका सिमानाभित्रपर्ने अन्यसहायक रोडहरुमा र स्थानहरुमा समेत बत्ति जडान गर्ने योजना नेपालगन्ज उप–महानगरपालिकाको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जको सहयोगमा राँझादेखि जमुनाहा नाका सम्म तिन सय ५१ नयाँ बत्ति जडान हुने सडक डिभिजन कार्यालय नेपालगन्जका सिभिल इन्जिनियर अमिर सुवेदीले जानकारी दिए । ‘सडक डिभिजन कार्यालय नेपालगन्ज मार्फत सो सडक बत्ति जडानका लागि टप्सन ईन्जिनियरिङ्ग प्रालिले ठेक्कामा सो काम गरिरहेको छ,’– उनले भने ।
उनले अहिले ‘अण्डर वाईरिङ्ग’को काम भईरहेको समेत जानकारी दिए ।उनले जानकारी दिए अनुसार यहाँ जडान हुने सडक बत्तिहरु एक सय वाट क्षमताका तिन सय ५१ वटा हुनेछन् । तिन महिना अघि सुरु भएकोयस योजनाको समयावधि असोज सम्म भएपनि काम छिटो सकिने सडक डिभिजन कार्यालय नेपालगन्जका सिभिल इन्जिनियरसुवेदीले जानकारी दिए ।
‘६ करोडको लगानिमा सम्पन्न हुने यस योजनामा जडान गरिने सडक बत्ति पहिले जस्तो हुने छैन । अब जडान हुने सडक बत्ति बुटवल भैरहवाका सडकमा जडान भएका बत्ति अनुसारको गुणस्तर हुने छ ।भने, यस्ता सडक बत्तिले सडक दुर्घटनाको जोखिम न्युनिकरण संगै सुरक्षाका दृष्टिकोणले पनि सहयोगी हुनेछन् ।’