नगरमा दर्ता हुन आएनन १७ सहकारी
Wednesday, May 31st, 2023, 5:09 pm
Kalpristha
नेपाल सरकारको सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमीस)मा भने जम्मा ९५ वटा सहकारी संस्था मात्रै दर्ता भएका छन् । बाँकी १७ वटा सहकारी अंझैपनि यस सुचना प्रणालीमा आवद्व हुन सकेका छैनन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ जेठ
नेपालगन्ज उप–महानगरपालिकाको कार्यक्षेत्रमा रहेका सबै सहकारी नेपाल सरकारको सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमीस)मा दर्ता हुन सकेका छैनन् । यस स्थानीय तह भित्र १ सय १५ वटा सहकारी संस्था दर्ता छन् । ति मध्ये १ सय १२ वटा सहकारी संस्था नेपालगन्ज उप–महानगरपालिकाको कार्यक्षेत्र अन्र्तगत सन्चालनमा रहेका छन् ।
नेपाल सरकारको सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमीस)मा भने जम्मा ९५ वटा सहकारी संस्था मात्रै दर्ता भएका छन् । बाँकी १७ वटा सहकारी अंझैपनि यस सुचना प्रणालीमा आवद्व हुन सकेका छैनन् ।
सबै सहकारी संघ संस्थाहरु यस सुचना प्रणालीमा आवद्व हुनैपर्ने नेपालगन्ज उप–महानगरपालिकाका पन्जीकरण तथा सहकारी शाखा प्रमुख प्रविण राना बताउँछन् ।
‘यस प्रणलीले सहकारी संघ संस्थालाई व्यवस्थापकीय र वित्तिय सुचनाका सवालमा व्यवस्थित बनाउँदै संस्थाको पारदर्शीता र जवाफदेहिताको प्रर्वधन गर्छ भने आन्तरिक नियन्त्रण पद्दतीलाई समेत स्थापित गर्छ । यस प्रणलीमा सबै सहकारी संघ संस्थाहरु आवद्व हुनैपर्छ । तर, हाम्रै कार्यक्षेत्रका पनि सबै सहकारीहरु यस प्रणलीमा आवद्व हुन सकेका छैनन् । केहि प्रक्रियामै अल्झेका छन् भने केहिले भरखरै प्रक्रिया सुरु गर्दै छन् ।’–रानाले भने ।
ढिलोचाँडो सबै सहकारीलाई प्रक्रियामा ल्याउने उनले बताए । कोपोमिस प्रणाली अन्र्तगत नेपालगन्ज उप–महानगरपालिकामा ३७ वटा बचत तथा ऋण सहकारी, ३६ वटा कृषि सहकारी, १६ वटा बहु उदेश्यीय सहकारी, ४ वटा उपभोक्ता सहकारी, एउटा दुग्ध सहकारी तथा २ वटा अन्य सहकारीहरु छन् ।
समस्टीगत रुपमा ६ करोड १ लाख ३२ हजार १ सय ७५ रुपैंया सेयर लगानी गरेका नेपालगन्ज उप–महानगरपालिका कार्यक्षेत्र रहेका यि सहकारीहरुमा २६ करोड ३८ लाख ९४ हजार ७ सय २७ दशमलव २४ रुपैंया बचत छ । उनीहरुले २२ करोड २८ लाख ७९ हजार २२ दशमलव ६२ रुपैंया ऋण प्रवाह गरेका छन् ।
अहिले सम्म नेपालगन्ज उप–महानगरपालिकामा एउटामात्रै लिखित उजुरी परेपनि मौखिक उजुरी भने बेला बेलामा आईरहने सहकारी शाखा प्रमुख राना बताउँछन् ।