नवनिर्मित भवनमा कार्यालय स्थानान्तरण
Wednesday, May 31st, 2023, 7:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, १७ जेठ
नवनिर्मित बाँके डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थानान्तरण भएको छ । भुकम्प प्रतिरोधात्मक लिफ्टसहितको निमार्ण सम्पन्न नयाँ भवनमा स्थानान्तरण गरिएको हो । बुधबार नयाँ कार्यालय भवनमा गृह प्रबेशको विशेष पुजापाठ गरि स्थानान्तरण गरिएको हो । गाउँपालिकामा हिन्दु र इस्लाम धार्मिक परम्पराअनुसार छुट्टाछुट्टै पुजा गरिएको थियो ।
आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीको नेतृत्वमा आचार्य गौनन्दन शास्त्रीजी महाराज, आचार्य मुकुन्द, तिरथराम पाठक र सिता शर्मालगायत ७ जनाले बैद्धिक विधीअनुसार पुजा गराएका थिए । यसैगरि इस्लाम धर्मका मौलाना र मुक्तीद्धारा पनि शुभसाईतमा पुजापाठ गरि भवनबाट कार्यालयको सेवा शुरु भएको छ ।

………..
भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पालिकाका कर्मचारीहरुलाई सेवा प्रवाह गर्नमा सहजता भएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
अध्यक्ष चौधरीले भन्नुभयो,–‘कार्यालय भवनको अभावमा कर्मचारीलाई बस्न समस्या छ, यसले कर्मचारी र सेवाग्राहीविचको सम्वन्ध समेत दुरी बनाएको थियो ।’ त्यसैले यो नयाँ भवनले सेवा प्रवाहमा सहजता हुन्छ उनले भने । पालिकालाई सवारी साधन, विभिन्न इकुमेन्ट, मेसिन, औषधी स्टोरलगायत व्यवस्थापन गर्ने समस्या अब अन्त्य भएको छ ।
वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा रु १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण भएको प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्माले बताए । उनका अनुसार चार तल्ले भवनमा ५ सय जना क्षमता भएको ठुलो सभागृह, बैठक कक्ष, न्यायका लागि इजलास कक्ष, ३२ वटा कार्यालय कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारी साधनका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, सुरक्षा गार्ड रुम र लिफ््टसहितको भवन निमार्ण भएको छ ।
गाउँपालिकाको भवन अपाङ्गमैत्री, बालमैत्रीसंगै अत्याधुनिक फाउन्टेनको व्यवस्थापन गरिएको छ । रोयल कन्स्ट्रक्सन धनगढीले सम्झौता गरेको अवधीभित्र नै भवन निमार्णको कार्य सम्पन्न गरेको छ ।