कथाकार डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ विमोचन विमोचन
Saturday, June 3rd, 2023, 7:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० जेठ
बाँकेका कथाकार डा. इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासंग्रह ‘मयँगाँठो’ शनिबार नेपालगन्जमा विमोचन गरिएको छ ।
खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कथासंग्रहको विमोचन साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर र आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।
कथासंग्रहको समालोचना गर्दै समालोचक ईश्वरी रिजालले यो कथासंग्रहमा १८ वटा निकै समय सान्दर्भिक कथा समेटिएको जानकारी दिए । कोभिड महामारी र जनयुद्वको प्रभावसँग सम्बन्धित कथा लगायत केही इतिहास झल्काउने कथा पढ्नैपर्ने खालको रहेको बताए ।
पाठकको हैसियतले कृतिको समीक्षा गर्दै साहित्यकार सुमित्रा न्यौपानेले डा. भण्डारीद्वारा लिखित कथा निकै रोमाञ्चक र शिक्षाप्रद रहेको बताए ।
कार्यक्रममा बोल्दै साहित्यकार सनत रेग्मीले खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्यको विकासका लागि सुरु गरेको अभियान निकै महत्पूर्ण रहेको जनाउँदै अन्य पालिकाले पनि प्रतिष्ठान स्थापना गरेर साहित्यिक गतिविधि अगाडि बढाउनुपर्ने बताए ।
खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहनु भएका कथासंग्रहका लेखक डा. इन्द्रबहादुर भण्डारीले कृति प्रकाशन गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै अब बाँकेको साहित्यले झनै फड्को मार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा साहित्य खगेन्द्रगिरी कोपिला, सागर गैरे, झलक गैरे, कल्पना पौडेल, माधव शर्मा, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलगायत साहित्यप्रेमीको उपस्थिति थियो ।