नेपालको विकास र समृद्धिको अवरोधमा दुई श्रेणीका दलितहरु
Sunday, June 4th, 2023, 10:02 am
Kalpristha
अर्जुन दर्जी
भारतीय संविधानका पिता डा. भीमराव अम्बेडेकरले भारतमा आर्थिक, सामाजिक, राजनीतिक रुपमा उत्पिडनमा रहेको कथित अछुतहरुको समूहलाई एकिकृत रुपमा संवोधन गरी अधिकार दिलाउन, भारतको संविधानमा दलित शब्दको प्रवेश गराएका हुन् । नेपालमा पनि हिन्दु धर्ममा आधारित सामन्ती, निरंकुश, नश्लवादी, केन्द्रिकृत, एकात्मक राज्य व्यवस्थाले एक समूहलाई राज्य प्रदत्त सबै अबसरहरुमा बञ्चित गरी कथित अछुतमा विभाजन गरी आर्थिक, सामाजिक र राजनीतिक रुपमा कमजोर बनाएकोले विभेद र उत्पिडनमा परेको समूहलाई एकिकृत रुपमा अधिकार सम्पन्न बनाउन संविधानमा दलित शब्दको प्रयोग गरिएको छ ।
लामो समयदेखि विभेद र उत्पिडनमा परेका समूहहरुले आफ्नो अधिकारको लागि एकिकृत आन्दोलनको रुपमा प्रयोग गर्दै आएको सामुहिकताको शब्द भएकोले यसलाई संविधानमा उल्लेख गरिएको हो । दलित कुनै जात होइन र जाति पनि होइन । संस्कृतमा यसको शब्दको अर्थ पिल्सिएको, छिया छिया पारिएको, दलिएको, विभाजित पारिएको भन्ने हुन्छ । भारतमा पश्चिमा अंग्रेजहरुले अति दरिद्र मानिसहरुलाई तल्लो स्तरको गाली दिन यो शब्द प्रयोग गरेका थिए ।
सामाजिक सञ्जालमा समावेशिता, आरक्षण, पहुच, अवसर र अधिकारहरुको विषयमा पक्ष र विपक्षमा पोखिएका आत्मसन्तुष्टिका अनियन्त्रित अभिव्यक्तिहरुले आम नेपालीहरुमा दलित शब्द एलर्जीको रुपमा रहेको महसुस गर्न सकिन्छ । साथै सामाजिक सञ्जालका विद्वानहरुमा दलित शब्दको शाब्दिक, साँकेतिक र ऐतिहासिक अर्थ जान्ने इच्छा र फुर्सद नभएको विषयमा पनि प्रष्ट हुन सकिन्छ ।
तर राष्ट्रवाद, राष्ट्रियता, दिगो शान्ति, सुशासन, विकास र समृद्धिका विषयहरुमा विचारहरु पोष्टाउन भने तछाड मछाड नै देखिन्छन । सामाजिक सञ्जालमा भेटिने असरल्ल विचारहरु, विभिन्न राजनीतिक आन्दोलनहरुमा कथित दलितहरुको सन्दर्भमा जताइएका साहनुभूतिका भाष्यहरु र गाँउ, समाज, स्थानीय तह, प्रदेश र संघ स्तरमा कथित गैर दलितहरुको जीवन व्यवहारहरुले नेपालीहरुलाई दरिद्रताको दुई श्रेणीमा विभाजन गर्नुपर्ने हुन्छ ।
पहिलो श्रेणीका दलितहरु
नेपालमा २०२४ साल अगाडी देखिबाट हिन्दु जात र वर्ण व्यवस्थामा आधारित रहेर दुर्भाग्यबश निर्माण हुन गएको जातकै आधारमा योग्य र अयोग्य ठान्ने, असमानतालाई स्वभाविक, बहिष्करणलाई कर्तव्य र भेदभावलाई पवित्र मान्ने घिनलाग्दो र दरित्र सोंचबाट पिल्सिएको कथित गैरदलितहरुको समूहलाई पहिलो श्रेणीको दलितमा राख्नुपर्दछ ।
२१ औं शताब्दीको उत्तरार्धमा विश्व एक गाउँमा रुपान्तरण भइरहेको छ । राज्यहरु राष्ट्रवादबाट माथि उठेर विश्ववाद र मानवताबादका लागि जुटिरहेका छन । मानिसहरु विज्ञान, प्रविधि र उन्नत ज्ञानहरुले अन्तरिक्ष चुमिरहेका छन् । चौथो औधोगिक क्रान्तिले मान्छे, जात, जाति, समुदाय, धर्म र राज्य स्वयमको अस्तित्वमाथि प्रश्न गरिरहेको छ । यस्तो अग्रगामी र उन्नत समयमा दुषित इतिहासले निर्माण गरेको तहगत प्रणालीलाई उपयोग गरी राज्यको स्रोत साधन र अवसरहरुले प्राप्त गरेको सूचनाको आधारमा विद्वान र विज्ञ कहलिदै नश्लवाद नातावाद र जातिवाद विस्तार गर्ने, साँधुरो घेरामा सोच्ने, कुण्ठित, घृणित र दरित्र मानसिकता भएका शासक, धनाढ्य, धर्माधिकारी, राजनीतिक ठेकेदारहरु, बजारका हर्ता कर्ताहरु, समाजबादका ठेकेदारहरु ,साहित्य र संस्कृतिका ठेकेदारहरु, र उदारवादका रक्षकहरु पहिलो श्रेणीका दलितहरु हुन् । जस्ले जात व्यवहार र कुसंस्कारलाई जीवन व्यवहारको अंग बनाइरहेका हुन्छन् ।
रगत सबैको रातो हुन्छ । मन मस्तिष्क र सोच्ने शक्ति सबैमा हुन्छ । दुषित इतिहासको जात र वर्ण व्यवस्थाले एउटा समूहलाई कमजोर बनाएको विषय पनि प्रमाणित भइसकेको छ । राज्य भित्रका सबै नागरिकको समुन्नति नै विकास हो । दिगो शान्ति, सुशासन र समृद्धिको आधार हो । हरेक नागरिक राज्यको लागि महत्वपूर्ण हुन्छन । हरेक नागरिकलाई म महत्तम पात्र हुँ भनेर बोध गराउनु लोकतन्त्र हो । राज्यका सबै नागरिक शसक्त भएमा मात्रै राज्य सुरक्षित हुन्छ । सभ्य र अनुशासित नागरिक भएमा सुशासन कायम गर्न सजिलो हुन्छ । धर्ममा विश्वास गरिन्छ भनेपनि कसैको मन दुःखाउनु पाप हो । यावत विषयमा जानकार कहलिने तर सोंच र व्यवहार परिवर्तन गर्न नसक्ने अति निकृष्ट र दरिद्र सोंच भएको मानिसहरु पहिलो श्रेणीका दलितमा पर्दछन ।
स्वार्थ पर्दा जुठो चलाउँछन । जवानी साट्छन । सबै जान्ने सुन्ने समाजको हर्ता कर्ता कहलिन्छन । छुवाछुत र विभेद नमान्ने २१ औँ शताब्दीको प्रगतिशिल भन्छन । असमानता र विभेदले नेपाल उभो लाग्न नसकेको विषयमा विश्व विद्यालयबाट डबल डिग्री हाँसिल गर्छन । विश्वका विकसित र प्रगतिशिल मुलुकहरुका प्रतिष्ठित विश्वविद्यालयहरुमा अध्ययन अध्यापनरत छन ।
प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीमा प्रतिष्ठित पदमा कार्यरत छन । तथापी सामाजिक सञ्जालमै नश्लबाद असमानता र विभेदकै पक्षपोषणमा विद्वता खर्चिएका हुन्छन । दुषित इतिहासले आफ्नो र मुलुककै विकास र समृद्धिको वाधकको रुपमा स्थापित गरेको जात व्यवस्था र छुवाछुत जस्तो मानवअधिकार विरूद्धको जघन्य अपराध, कुरुति र कुसंस्कारको अन्त्यका लागि जीवन व्यवहार परिवर्तन गर्न पनि सययको जिम्मा दिन्छन । आफ्ना हजुरवुवा हजुरआमा र बुवा आमाको देहवसानको मिति कुरेर बस्छन । उत्पिडनमा परेको मानिसहरुको मात्रै समस्याको रुपमा बुझ्दछन । उनीहरु नेपालको विकास र समृद्धिको अवरोधको रुपमा रहेका पहिलो श्रेणीका दलितहरु हुन ।
दोस्रो श्रेणीका दलितहरु
हिन्दु वर्णाश्रम व्यवस्थामा शुद्रको उपमा प्राप्त गरि जात व्यवस्थामा आधारित भई छुवाछुत जस्तो जघन्य अपराधबाट पुस्तौँपुस्ता देखि नारकीय जीवन विताउँदै आएको, पृथ्वीनारायण शाहको नेपाललाई असली हिन्दुस्ताना बनाउने अभियान, जंगबहादुरले कानूनी रुपमा स्थापित गरेका जातीय मान्यताहरु, सामन्तवाद र नश्लबादले प्रशय गरेको थिचोमिचोको व्यवहारहरु, पुँजीवादी चरित्रले स्थापित अभिजात वर्गीय कब्जा प्रणालीले आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक अवसरबाट वञ्चितीकरणमा परेको समूह दोस्रो श्रेणीको दलितमा पर्दछन ।
नेपालमा दोस्रो श्रेणीका दलितहरु पनि विकास र समृद्धिका वाधकका रुपमा रहेका छन् । हिन्दु वर्णाश्रम व्यवस्था र जात व्यवस्थाले स्थापित गरेका कुसंस्कार र प्रणालीलाई सुरु अवस्थादेखि नै अबलम्बन गर्दै स्वयम कथित अछुतहरुको विचमा समेत स्थापित गरेका छन् । आफूहरुबीच जीवन व्यवहारको अंग वनाइरहेका छन् । सामन्तवादी, निरंकुश, नश्लवादी, केन्द्रिकृत, र एकात्मक शासन प्रणालीको वेलावखत साछी बस्दै आएका छन । समाजमा भएका कुसंस्कार, विकृति, धर्मअन्धता, विसँगति, असमानता र विभेदलाई अंगीकार गर्दै र सहँदै आएका छन् ।
वर्ण र जात व्यवस्थाले स्थापित गरे तहगत प्रणालीलाई अंगिकार गर्दै अमुक व्यक्तिका झोले र दासी बनी चाकडी र चाप्लुसीमा रमाएका छन । सामान्य पारिवारिक समस्याहरुमा समेत विष्टहरुको निर्णय सिरोधार्य गरेका छन । अन्तर्निहित क्षमताको पहिचान र विकास नगरी पद लोलुपताले सिमित पदमा आपसी द्धन्द र मनमुटाव गरिरहेका छन । दलगत रुपमा विभाजित छन । असमानता, छुवाछुत र विभेद अन्त्यको लागि ठेकेदारी प्रथा कायम गर्दै असमानता र विभेदबाट उत्पिडित अन्य लिङ्ग वर्ग जाति समुदाय र क्षेत्रलाई एकिकृत आन्दोलनमा आव्हान गर्न सकेका छैनन ।
अन्तराष्ट्रिय रुपमा स्थापित आफ्ना हक र अधिकारको उपयोग गर्न हिच्किचाइरहेका छन् । हक र अधिकार प्राप्तिका लागि वारपारको आन्दोलन शुरुवात गर्न ढिलाई गरिरहेका छन् । कथित दलितहरुले आँफूमाथिको अन्याय अत्याचार थिचोमिचो छुवाछुत र विभेद सहिँदिदा लोकतन्त्र फस्टाउन पाएको छैन । सामाजिक न्याय कायम गर्दै कानूनको शासन स्थापित गर्न कठिनाई भएको । उपेक्षित र निष्कृय नागरिक समूहको कारण मुलुकको विकास र समृद्धिको ग्राफ लाजमर्दाे छ । यसर्थ नेपालको विकास र समृद्धिको वाधकको रुपमा दोस्रो श्रेणीको कथित दलितहरु समेत जिम्मेवार देखिन्छन ।
विकास र समृद्धिको अवरोधहरु छिचोल्ने सामान्य विषयहरु
नश्ल, धर्म र जातिवादी राज्य चरित्र, जड समाज, दरिद्र मानसिकता बोकेका कथित युवा जमात र माथी उल्लेख गरिएका दुवै श्रेणीका दलितहरु नेपालको विकास र समृद्धिको चुनौतीको रुपमा रहेका छन । छुवाछुत र विभेदजन्य राज्य संरचना र जीवन व्यवहारहरुले गर्दा सुशासन, लोकतन्त्र, मानवअधिकारको अवस्था, कानूनको शासन र सामाजिक न्यायको सुचाकङ्कमा राम्रो स्थान कायम हुन सकेको छैन । राष्ट्रिय सुरक्षा र अन्तराष्ट्रिय प्रतिष्ठा समेत निरन्तर खस्कदोँ अवस्थामा छ ।
नेपालको संविधानमा विद्यमान असमानता र विभेदको अन्त्य गर्दै मुलुक निर्माणमा सबै नागरिकहरुको सक्रिय सहभागिता र योगदान भएमा मात्रै दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल हुन सक्दछ भनी उल्लेख गरिएको छ । आम नेपालीहरुमा विकास र समृद्धिको लाभहरु उपभोग गर्ने हुटहुटी देखिन्छ । तर विकास र समृद्धिको संरचनागत अवरोधहरु छिचोल्ने विषयहरुको वहसलाई विषयान्तर गर्न जेनेटिक रुपमै अभ्यस्त देखिन्छौँ । २१ औँ शताव्दीको उत्तरार्धमा समेत हामीहरुलाई पूर्ण मानवको श्रेणी प्राप्त गर्न, ज्ञान र विज्ञान सँगत विकास र समृद्धिले अन्तराष्ट्रिय पहिचान भएको राष्ट्रवादी नागरिक हुन, सामाजिक न्याय सहित दिगो शान्ति छाएको समाजको सभ्य नागरिक कहलिन, कुसंस्कारयूक्त सोंच र जीवन व्यवहारबाट मूक्त हुन कठिन हुनु दुर्भाग्यको विषय हो ।
पूर्ण समानुपातिक समावेशी राजनीतिक दल र संगठनहरु, पूर्ण समानुपातिक समावेशी व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक निकायहरु र सबै सरकारी नियुक्तिहरु, पूर्ण समानुपातिक समावेशी निजामती, प्रहरी, सेना, शिक्षक र अन्य सरकारी सेवाहरु तथा निजी सेवा क्षेत्रहरु, नेपालभित्र गठन हुने जुनसुकै संस्था समूह र समितिहरु पूर्ण समानुपातिक समावेशी हुनुपर्ने, छुवाछुत र विभेद विरुद्ध कडा कानूनी व्यवस्था, वैज्ञानिक भूमि व्यवस्थापन मार्फत भूमिहिनहरुको लागि आवश्यक खेतीयोग्य जमिनको वितरण, कमजोर बर्गको गुणस्तरीय शिक्षाको लागि ग्रामिण क्षेत्रमा गुणस्तरीय युवा शिक्षकको व्यवस्था र कमजोर बर्गको लागि निःशुल्क शैक्षिक सामाग्रीको व्यवस्था, निःशुल्क स्वास्थ्य सुविधा र निःशुल्क विमाको व्यवस्थालाई ग्रामिण क्षेत्रमा विस्तार, लक्षित बर्गमा विना धितो नरम ऋण प्रवाह हुने अनिवार्यता, अन्तरजातीय विवाहलाई प्रोत्साहन र सुरक्षा आदि जस्ता सामान्य विषयहरुमा वैज्ञानिक रुपमा अगाडी बढ्न नसक्नु र असमानता छुवाछुत र विभेदलाई समाप्त पारी नेपालमा विकास र समृद्धिको विजारोपण गर्न बिलम्ब गर्नु अपराध भएको छ ।
यसर्थ नेपालको विकास र समृद्धिको संरचनात्मक अवरोधको रुपमा रहेको छुवाछुत र विभेद जस्तो मानवता विरोधी जघन्य अपराधका विरुद्ध अन्तिम बहस गर्न पहिलो र दोस्रो श्रेणीका दलितहरुहरु दरिद्र मानसिकताबाट माथि उठ्नुपर्छ । जात व्यवहार र कुसंस्कार मुक्त जीवन व्यवहार बनाउन जुट्नुपर्छ । धन्यवाद ।
सन्दर्भ सामाग्रीहरुः
विकिपिडिया, जातवार्ता (आहुति), नेपालको संविधान, सामाजिक सञ्जालहरु