कार्कीले नेपालगन्जबाट दिए वरिष्ट उपाध्यक्षमा उम्मेदवारी
Monday, June 5th, 2023, 8:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ जेठ
नेपालगन्जका कानुन व्यवसायी प्रहलाद बहादुर कार्कीले आगामी जेठ २६ गते हुन लागेको नेपाल डेमोक्रयाटिक लयस एशोसियशनको ११औं महाधिवेशनमा वरिष्ट उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
चार दशकदेखि कानुन व्यवसायमा संलग्न अधिवक्ता कार्कीले सोमबार औपचारिक रुपमा आफनो उम्मेदवारी रहेको सार्वजनिक गरेका छन् । डिएल र नेपाल बार एशोसियशनका केन्द्रिय उपाध्यक्ष समेत रही सकेका कार्कीले यसअघि १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर पछि उनले आफनो उम्मेदवारी फिर्ता लिएका थिए ।
कार्यसमितिमा एक महिला अनिवार्य उपाध्यक्ष सहित ८ जना उपाध्यक्ष हुने व्यवस्था रहेको छ । डिएलएमा जिल्लादेखि केन्द्रको विभिन्न तहमा रहेर अनुभव संगालीसकेकाले अब वरिष्ट उपाध्यक्षमा रहेर कानुन व्यवसायीको हकहित र संस्थागत विकासमा योगदान गर्ने लक्ष्य सहित उम्मेदवारी दिएको कार्कीले बताएका छन् ।
कार्कीले उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा सोमबार डिएलए बाँके अध्यक्ष जनक बहादुर शाही, उच्च अदालत बार एशोसियशन नेपालगन्ज अध्यक्ष चित्र बहादुर शाही, पुनरावेदन अदालत बार एशोसियशन नेपालगन्जका पुर्व अध्यक्ष लोक बहादुर शाह, डिएलए बाँके पुर्व अध्यक्ष ईश्वरी ज्ञवालीको सहभागिता रहेको थियो ।