व्यवसायिक कुरा सिकाउन खजुरामा सुरु भयो तरकारी खेती तालिम
Wednesday, June 7th, 2023, 5:12 pm
Kalpristha
दुर्गा पौडेल
खजुरा, २४ जेठ
खजुरामा तिन दिने व्यवसायिक तरकारी खेती तालिम सुरु भएको छ । तरकारी खेतीमा महिलाहरुलाई आर्कषित गर्ने उद्देश्य सहित निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले तालिमको आयोजना गरेको हो । तालिम जेठको २६ गतेसम्म खजुराको मिनि पार्क रिर्सोटमा चल्नेछ । तालिममा खजुरा र बैजनाथ गाउँपालिकाका ३५ जना महिलाहरुको सहभागिता रहेको छ । सहभागिहरु निर्धन उत्थान लघुवित्तमा आवद्ध भएका महिलाहरु रहेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाका प्रमुख शैलेन्द्र शाहले जानकारी गराए ।
बुधबार खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले तालिमको उद्घाटन गरिन् । तालिमको उद्घाटन समारोहमा उपाध्यक्ष मल्लसँगै विशिष्ट अतिथीको रुपमा निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड क्षेत्रीय कार्यालय कोहलपुरका व्यवस्थापक नवराज जोशी, कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समिद अहमदले तालिमको महत्वबारे बताएका थिए । तालिममा सहभागिहरुलाई कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रशिक्षक लक्ष्मण भण्डारी र हरि बहादुर विकले सहजीकरण गर्नेछन् ।
तालिम समापन पश्चात सहभागिहरुलाई तरकारी खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले निर्धनले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने खजुरा शाखाका प्रमुख शाहले बताए । शाहका अनुसार निर्धनले हरेक वर्ष कृषि र पशुपालनका क्षेत्रमा विभिन्न महत्वपुर्ण तालिमहरुको आयोजना गर्दै आएको छ । यसअघिका वर्षहरुमा खजुरा क्षेत्रमा बाख्रा पालन, कुखुरा पालन, भैसी पालन जस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको थियो । निर्धनले खजुरा गाउँपालिकामा उत्कृष्ट नतिजा निकाल्ने विद्यार्थीलाई छात्रवृत्ति समेत दिने गरेको छ । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै खजुरा गाउँपालिका उपाध्यक्ष मल्लले आर्थिक रुपमा महिलालाई बलियो बनाउन तालिम उपयोगी हुने बताईन् ।
कृषिबाट आर्थिक उन्नती गर्न महिला दिदी–बहिनीहरुलाई व्यवसायिक कुराहरु सिकाउने उद्देश्यले तालिम आयोजना गरेकोमा मल्लले आयोजक निर्धनलाई धन्यवाद दिईन । उनले भनिन, ‘यो तालिम निकै महत्वपुर्ण छ । आर्थिक कुरासँग मात्र जोडिएको छैन । महिलाहरु घरबाट बाहिर निस्कनको लागि हाम्रो समाजमा धेरै अप्ठयाराहरु छन । महिलाहरुले आर्थिक रुपमा आत्मनिर्भरसँगै नेतृत्व र क्षमता अभिवृद्धिमा ध्यान दिनु पर्छ । यो एउटा विकास पाटो हो । महिलाले आफनो परिचय दिन सक्नु पनि विकास हो । र तालिमले त्यो कुरामा सहयोग गर्ने विश्वास लिएकी छु ।’
निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड क्षेत्रीय कार्यालय कोहलपुरका व्यवस्थापक नवराज जोशीले नेपालमा लघुवित्त कार्यक्रम २०४९ सालमा सुरु भएको बताउँदै यसको भुमिकाका बारेमा बताएका थिए । जोशीले बंगलादेशको गरिबी कम गर्न लघुवित्त कार्यक्रम प्रभावकारी भएको देखेपछि नेपालमा लघुवित्त कार्यक्रम सफल हुन सक्छ भन्ने सोचले सुरु भएको जानकारी जानकारी गराए ।
संस्थागत रुपमा काम गर्दै जादा विभिन्न समस्या देखिएपछि २०५५ साल देखि निर्धन उत्थान बैंकका रुपमा काम गर्न सुरु गरेको बताउँदै जोशीले भने, ‘हामीले बैंकको रुपमा काम गर्न सुरु गरेपछि कर्जा, बचत, बिमा र रेमिटयान्सको माध्यमबाट देशको विभिन्न पिछडिएको ठाउँमा रहेका महिलाहरुको जीवनस्तर माथि उकास्न सकिन्छ भनेर हाम्रा सेवाहरु अगाडी बढाउँदै गयौं । क्रमिक रुपमा अगाडी बढदै गर्दा अहिले ३० वर्षको दौरानमा देशको ७७ जिल्लामै आफनो कार्यक्रम विस्तार गर्न सफल भएकाछौं । १ सय ८५ शाखा विस्तार भएका छन् ।’

………….
निर्धनको तराई, पहाड, हिमाल सबै ठाउँमा शाखाहरु छन् । दुर्गम क्षेत्रमा निर्धनले शाखा विस्तार गरेको छ । निर्धनले हाल ४ लाख दिदी बहिनीहरुसँग कारोबार गरिरहेकोछ । जसमध्ये २ लाख ५० हजारले कर्जा उपभोग गरेका छन् । निर्धनले २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने १९ अर्ब बचत संकलन गरेको क्षेत्रीय व्यवस्थापक जोशीले बताए । कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समिदअहमदले आफनो कार्यालयले कृषिका निकायहरु, विज्ञ, वैज्ञानिक र विषयवस्तुहरुमा किसानलाई उत्प्रेरणा दिने काम गदै आएको बताउँदै कृषि क्षेत्रमा प्रभावकारी तालिम गरेकोमा निर्धनलाई धन्यवाद दिए । उनले भने,‘ हामीले काम गर्ने क्षेत्रमा निर्धनले सहयोग गरेको छ । तरकारी खेती निकै आवश्यक छ । यसले मानिसलाई आर्थिक रुपमा सक्षम बनाउँदै मानिसको शरीरलाई स्वास्थ्य राख्न आवश्यक छ । आर्थिक हिसाबले तरकारी अन्य खेती भन्दा फाइदा जनक छ । तालिमले समुदायमा आ–आफनै किसिमले तरकारी खेतीगरिरहेका दिदीबहिनीहरुलाई प्राविधिक रुपमा सहयोग गर्ने छ ।

…………..