सरस्वती स्कुललाई इ–रिक्सा सहयोग
Thursday, June 8th, 2023, 11:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ जेठ
नेपालगन्जमा विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफले सरस्वती प्राथमिक विद्यालय इ–रिक्सा प्रदान गरेको छ । सरस्वती प्राथमिक विद्यालयमा पढिरहेका सुस्तमनःस्थितिका बालबालिकाको पढन–पाठन सहयोग गर्ने उद्देश्यले लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफले इ–रिक्सा सहयोग गरेको हो । सहयोग गरिएको रिक्साले दैनिक रुपमा बालबालिकालाई विद्यालय आउनमा प्रयोग गरिनेछ ।
नेपालगन्जमा उप–महानगरपालिका वडा नम्बर ९ मा रहेको विद्यालयले सुस्तमनःस्थिति भएका बालबालिकाहरुलाई पढाउनको लागि एउटा कोठाको व्यवस्था गरेको छ । जहाँ उनीहरुको पढन पाठनमा निकै समस्या देखिएकोले स्थानीय सरकारलाई ध्यान दिनेका लागि सन्देश दिन सहयोग गरिएको लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ अध्यक्ष केशव न्यौपानेले बताए ।
उनले भने,‘विद्यालयले आफनै स्रोतले सक्दो प्रयास गरेको रहेछ । हामीले त्यहाँ गएर हेर्दा उनीहरुको पढन पाढनमा निकै समस्या रहेको देख्यौं । उहाँहरुलाई थोरै भएपनि सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यले रिक्सा सहयोग गरिएको हो ।’ सहयोग गरिएको रिक्सा करिब ४ लाख रुपैयाँ बराबरको रहेको छ ।
रिक्सा हस्तान्त्रण कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, लायन्स लिडर मुकुट ढकालले लायन्स क्लबहरुले मानवीय सहायतामा उत्कृष्ट रुपमा काम गरिरहेको बताए ।
विष्टले अटिजम भएका बालबालिकालाई सहयोग गर्ने आफुहरुको पनि योजना रहेको बताए । कार्यक्रममा भेरी अस्पतालका मेसु डा. बद्री चापागाई, लायन्सका पूर्व गर्भनर शेम शाक्य, वडाध्यक्ष, लान्यस क्लबका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।