बाँके राष्ट्रिय निकुञ्जमा हात्ति हाक्ने साहसी महिलाहरु
Saturday, June 10th, 2023, 6:11 pm
Kalpristha
रुपनी जिएम
नेपालगन्ज, २७ जेठ
‘मिनु खड्का’ भन्ने बित्तिकै बाँके राष्ट्रिय निकुञ्जमा हात्ति हाँक्ने महिला भनेर चिनिन्छिन् । उमेरले उनी चार दशक पार गरेकी माहुत महिला हुन् । हात्ति माथि बसेर हात्ति हाँक्न मिनुलाई झण्डै १ वर्ष हात्तिसँगै बस्नु परेको थियो । काठमाण्डौमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेकी मिनु आफ्नै घर नजिकैं हात्ति सफारी खुलेको छ भन्ने थाहा पाउने बित्तिकै काठमाण्डौबाट फर्किएकी थिईन् । बाँके फर्किएर माहुतका लागि फारम भरेर नाम निकाले पछि उनको जीवनमा नयाँ यात्रा सुरु हुन्छ । अहिले उनी बाँके राष्ट्रिय निकुञ्जमा माहुतको स्थायी कर्मचारी हुन् ।
०७४ सालमा माहुत बनेकी मिनुले छोरोछोरी र हात्ति दुबैको माया उत्तिकै लाग्ने गरेको बताउँछिन् । प्रत्येक दिन घरबाट जंगल र जंगलबाट घर गर्दा सधैं हात्ति नै साथी भएको बताउँदै मिनुले अब सक्दासम्म माहुत बनेर हात्तिकै सेवा गर्ने र हात्तिसँगै जंगल सफारी गर्ने चाहना रहेको बताउँछिन् । उनले भनिन, ‘मलाई मेरो छोराहरु र हात्तिमा एउटै फरक लाग्छ । छोराहरु बोल्छन् हात्ति बोल्दैन् । तर मेरो लागि दुबै उस्तै हुन् । पाँच वर्षदेखि हात्ति मेरो साथी भएको छ । यो बिना अब अरु नै काम गर्ने त म सोच्दिन । सक्दासम्म माहुत बनेर यसैको सेवा गरी रहन्छु ।’

…………
हात्ति सफारीका लागि नाम निस्कन्छ भन्ने कल्पनासम्म नगरेकी मिनुले अहिले माहुत बनेर आन्तरिक पर्यटक घुमाउँदा आफै दंग परेको बताउँछिन् । उनी भन्छिन, ‘मेरो नाम निस्कन्छ भन्ने मलाई लागेको थिएन । तर निस्कियो । कहिलेकाही विगतलाई सम्झन्छु । अनि आफै दंग पर्छुु ।’ माहुत मिनु एकल महिला हुन् । आठ वर्ष पहिले वैदेशिक रोजगारीको लागि कतार गएका बेला उनको श्रीमान्को विदेशी भुमिमै मृत्यु भयो । श्रीमानको असामयिक रुपमा भएको निधनले आफु र आफ्ना दुई छोराहरुलाई सामान्य जीवन यापन गर्न समेत गाह्रो भएको मिनुले अनुभव सुनाईन् ।
श्रीमानको मृत्यु पश्चात पुर्ण रुपमा एकल बन्नु भएकी मिनुलाई माईती र घर दुवैबाट साथ सहयोग गर्छन् भन्ने आशा थियो । तर दुवै परिवारबाट निराश हुनु परेको उनले बताईन । विगतको कुरा सम्झदै उनले भनिन, ‘एकल महिला भएपछि म साँच्चै एकल बनें । मैले माईती र घर दुवै परिवारको न साथ पाएँ न त सहयोग नै । मैले हिम्मत हारिन । ज्याला मजदुर गरेर भएपनि छोराहरु पाल्न सक्छु भन्ने आँटले म घर बनाउने काममा काठमाण्डौ गएँ । र झण्डै डेढ वर्ष काम गरें ।’
सुरुमा १५ हजारबाट हात्तिको सेवा गर्दै आएकी मिनुले अहिले मासिक २५ हजार तलब पाउँछिन् । बिहान ५ बजेर उठेर जंगल जाने र बेलुका ५÷६ बजे जंगलबाट फर्कने त मिनुको दैनिकि बनिसकेको छ । सामान्य लेखपढ भएकी मिनुले हात्तिलाई भने आफ्नै भाषामा धेरै कुरा पढाई सक्नु भएको छ ।
उनी भन्छिन, ‘मेरो हात्तिले मैले जे भन्यो त्यहीं मान्छ । मेरो भाषा बुझ्छ । जब यसले मैले भनेको सबै मान्छ तब मलाई असाध्यै खुशी लाग्छ । सुरुसुरुमा नपत्याउनेहरुले हिजोआज सम्मान गर्दा निकै खुशी लाग्ने गरेको छ ।’
मिनुले सौराज गज नामक भाले हात्तिको माथि बसेर जंगल सफारी गराउँछिन् । मिनु जस्तै बाँके राष्ट्रिय निकुञ्जमा हात्ति हाँक्ने महिलाको हुन रिता कुमारी सुबेदी । रिताले हात्तिलाई आफ्नो भाषा सिकाउँदै हात्ति माथि बसेर आन्तरिक पर्यटकलाई निकुञ्ज सफारी गराउन थालेको छ वर्ष भयो । उमेरले भर्खर तीन दशक पार गरेकी रिताले माहुत बन्नको लागि मिनुले जस्तै हात्ति सफारिका लागि खुलेको दरबन्दीमा आवेदन दिएर लिखित मौखिक सबै परिक्षा पास गरेकी थिइन ।
प्लस टूू सम्म पढ्नु अध्ययन् गरेकी रिताले माहुत बन्नका लागि छ महिना हात्तिको सेवा गर्नु परेको थियो । रिता भन्छिन, ‘माहुतमा नाम निस्किएपछि पुराना साथीहरुसँग हात्तिको स्याहार, खानापानीको समय, हात्तिलाई माया गर्ने तरिका, हात्तिको चरण, हेरचाह आदि सबै कुरा सिक्दै गर्दा छ महिना लाग्यो । हात्तिको सेवा गर्दै गर्दा उसले हाम्रो भाषा बुझ्ने रहेछ अनि हामीले पनि उसको आवश्यकता । हात्ति माथि बस्न मलाई छ महिना लाग्यो ।’
दैनिक ५ देखि ७ घण्टा हात्ति माथि बसेर जंगल सफारीमा जानुु पर्दा सुरुसुरुमा पुरा शरीर दुख्ने अनुभव रिताले सुनाइन । उनले भनिन, ‘शुरुमा बानी नपर्दा असाध्य शरीर दुख्ने गथ्र्यो । म त ढाड दुखेर हैरानक हुन्थें । तर पछिपछि भने अलि बानी पर्दै गयो ।’ बाँके राष्ट्रिय निकुञ्जमा हिजोआज हात्ति सफारीका लागि पर्यटक नआएपनि पहिला दैनिक २० देखि २५ आन्तरिक पर्यटकलाई हात्तिमा बसालेर जंगल सफारी गराउने गरेको रिताले बताईन् । उनले भनिन, ‘बिहानै उठ्ने बित्तिकै जंगल र बेलुका नहुुँदासम्मपनि जंगलमै दिन बित्दा कहिले काँही दिक्क लाग्ने रिता बताउँछिन् । ‘कहिले काँही त दिक्क लागेर आउँछ । जागिर छोडि दिऊँ कि जस्तो पनि लाग्छ । तर फेरी यो आर्थिक मन्दिमा अरुले जागिर नपाएर भौतारिएको देख्दा जस्तो भएपनि सरकारी जागिर छ भन्ने सम्झन्छु । र मन बुझाउँछु ।’

………….
रिताको ७ वर्षको एक छोरा हुनुहुन्छ भने श्रीमान नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । बच्चा सानो हुँदा श्रीमान लगाएत परिवारका अन्य सदस्यले जागिर छाड्न कर गरेपनि रिताले घर र जंगल दुबै सम्हाल्न सक्ने ओठट गर्दै माहुत बनि बनिन् । अहिले आफु हात्ति हाँक्ने महिलाका नामले चिनिन पाएकोमा गौरव लाग्ने उनले बताइन् । आजभन्दा २ वर्ष पहिला माहुत रितालाई ‘गणेर गज’ नाम गरेको भाले हात्तिले हानेर घाईते बनाएको अनुभव पनि उनले सुनाईन । ‘२०७८ सालमा मलाई गणेश गज नाम गरेको हात्तिले मलाई हानेर घाईते बनाएको थियो । बाहीर चोट देखिएन तर टाउको भने भित्री चोट लागेको थियो ।’ उनले भनिन,‘सुँडले थिचेर मलाई टाउकोमा चोट लागेको थियो । त्यतिबेला मैले डेढ महिना औषधी खाएकी थिएँ ।’ दाना दिएर फर्कने बेला रितालाई गणेश गजले सुँडले थिचेर घाईते बनाएको उनले बताईन । अहिले रिता शान्तिकली नाम गरेको हात्तिको माहुत हुनुहुन्छ ।
बाँके रष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत श्याम साहले निकुञ्जमा हात्ति हाँक्ने महिला र पुरुषमा कुनै फरक नभएको तर जंगल सफारी गर्न आउने पर्यटकले भने महिला माहुुत भएको हात्तिमा सफारी गर्न अलि आनाकानी गर्ने बताए । ‘जंगल सफारीमा आउने पर्यटकले महिला माहुतभन्दा पुरुष माहुतलाई रोज्ने गरेको पाईन्छ ।’ उनले भने,‘सायद उहाँहरुले शारीरिक रुपमा पुरुषको तुलनामा महिला कम्जोर हुन्छन् र जंगलमा भैपरी आउने घटनाबाट जोगाउन सक्दैनन् भनेर पनि हुन सक्छ । तर हामीले उहाँहरुलाई सम्झाउने गरेका छौं ।’
अधिकृत साहले माहुत हुनका लागि पहिला शरीरिक परीक्षा पास गर्नु पर्ने प्रावधान अनुसार महिला माहुतले पनि रुख चढ्ने, दैडने र पौडने गरी तीन चरणका परीक्षा पास गरेको जानकारी दिए । उनका अनुसार शारीरिक परीक्षा पास गरेपछि मात्रै लिखित र मौखिक परीक्षा गर्ने नेपाल सरकारको नीति अनुरुप नै माहुत छनौट गरिन्छ । महिला माहुतले पनि यि सबै तहका परीक्षालाई पास गरेको हुनाले पर्यटकहरुलाई महिला माहुत प्रति लिंगका आधारमा भेदभाव नगर्न आग्रह गरे ।
निकुञ्ज प्रमुख संरक्षण अधिकृत साहले महिला माहुुतलाई महिनावारीको समयमा आराम गर्न भनेर बिदा दिने गरेको बताए ।
उनले भने, ‘महिनावारीका समयमा महिलालाई आराम चाहिन्छ । त्यसैले उक्त समयमा निकुञ्जले महिला माहुतलाई आरामका लागि बिदा दिने गरेको छ ।’ उक्त समयमा पुरुष माहुतले महिला माहुतले हाँक्ने हात्तिको हेरचाहा गर्ने गरेको पनि उनले जानकारी दिए । बाँकेमा सफारिका लागि ६ वटा हात्ति रहेका छन् । जसमा भाले हात्ति २ वटा छन् भने पोथी हात्ति ४ वटा रहेको निकुञ्ज प्रमुख साहले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्जमा महिला पुरुष गरी २० जना माहुत छन् ।