पढ्ने रहर पुरा गर्दै गृहिनी
Sunday, June 11th, 2023, 7:15 pm
Kalpristha
लीलाधर वली
दाङ , २८ जेठ
घोराही उप–महानगरपालिका–१८ रझेना निवासी ४९ बर्षीय बिमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आएकी छिन् । पछिल्लो समय अन्य विद्यार्थीहरु जस्तै बिमला हरेक दिन किताव,कापी झोलामा बोकेर अध्ययनका लागि विद्यालय आउने र विद्यालयमा बसेर पढ्ने गर्छिन ।
घरायासी कामसँगै छोरीले पढ्नुहँुदैन भन्ने परम्परागत सोचका कारण सानोमा पढ्न नपाएकि बिमला अहिले भने घोराही उप–महानगरपालिका–१८ रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा पढ्न थालेकी हुन् । पढाईप्रतिको सानैदेखिको रहर अहिले ज्ञानहासिल गर्ने कार्यमा लागेको उनी बताउँछिन् ।
पढ्ने रहर पुरा गर्नकै लागि ४९ बर्षको उमेरमा उनि नियमित विद्यालय जाने गर्छिन् । चेतना महिला अनौपचारिक विद्यालयमा विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पढाई हुने गरेको छ । बिमला भन्छिन् ,‘सानो छदा पढ्छुभन्दा पनि छोरीले पढ्न पाउने अवस्था थिएन । विहेपछि घर व्यवहारले च्यापी हाल्यो । त्यसैले गर्दा बुढेसकालमा पढ्न थालेको छु ।’
सामान्य रुपमा भएपनि लेख्न, पढ्नसँगै घरायासी हिसाव आफै गर्न सक्ने हुँदा खुशी लाग्ने गरेको उनि बताउँछिन् । कक्षा १ साथीहरुसँग बसेर अध्ययन गर्दै आएकि बिमला बताउँछिन,‘शिक्षा विनाको जीवन अन्धकार जस्तै हुने रहिछ । त्यसैले गर्दापनि मलाई अहिले पढाईप्रति रुचि जागेको छ ।’
घोराही उप–महानगरपालिका–१६ सर्रा निवासी ५२ बर्षीय देवीकुमारी खड्कालाई केही बर्षअघिसम्म सामान्य रुपमा पढ्न/लेख्न आउँदैन थियो । जस्ले गर्दा उनलाई घरमा हिसाव कितावदेखि बैंकमा पैसा जम्मा गर्न जादा भौचर भर्नेदेखि पैसा निकाल्दा चेकमा केके लेख्नुपर्छ भन्ने थाहा हुँदैन थियो । त्यसैले गर्दा कति पटक नाती तँ कहिले बैंककै मानिसलाई चेकमा लेख्न पठाउनुपर्ने बाध्यता हुन्थ्यो । तर अहिले त्यो बाध्यता हटेको छ ।
४ कक्षामा अध्ययन उनलाई सामन्य रुपमा पढ्न,लेख्नदेखि बैंकमा भौचर भरेर पैसा जम्मा गर्न सक्ने भएको उनि बताउँछि । ‘दुई छोराहरु मध्ये कान्छो छोरा जापानमा छ । छोराले आमालाई सम्झेर पैसा पठाउँछ । तर बैंकबाट पैसा झिक्न चेकमा लेख्न सक्ने अवस्था थिइन । जस्ले गर्दा अरुलाई भन्न्ुपर्ने बाध्यता थियो’ उनले भनिन् ,‘पढ्न थालेपछि चेकमा लेख्न र त्यहाँ लेखेको बारेमा पढ्न सक्ने भएको छु ।
अहिले कसैलाई भन्न पर्दैन ।’ आफ्नो पढाई देखेर सुरुसुरुमा बुढेसकालमा किन पढ्नुपर्यो भन्ने श्रीमान र छोराहरु समेत खुशी हुने गरेको उनि बताउँछिन । उनले भनिन् ,‘सुरुमा श्रीमानसँगै छोराहरुलाई पढ्न जान्छु भन्दापनि मर्ने बेला किन पढ्नु पर्यो घरमै बसे हुँदैन भन्थे । घरमा बस्नुभन्दा पढ्छु भनेर म आफै आउन थालेको हुँ । अहिले तँ राम्रै मान्नुभएको छ ।’ नियमित पढ्न आउने गरेकी देवीकुमारी १० कक्षासम्म पढ्ने चाहना भएको बताउँछिन् ।
घोराही उप–महानगरपालिका–१८ निवासी २४ बर्षीय अनिता चौधरी पनि कक्षा ३ मा पढ्दै आएकी छिन् । घरको कमजोर आर्थिक अवस्थाका कारण सानोमा पढ्न नपाएकी अनिता पछिल्लो समय साँझ विहान अरुको काम गरेर दिउँसो पढ्दै आएकी छिन् । नपढेको मान्छेसँग ज्ञान नहुने र जस्लेपनि हेप्ने गरेकाले पछिल्लो समय आफुले पढ्न थालेको अनिता बताउँछिन् ।
उनले भनिन् ,‘कमजोर घरको अवस्थाका कारण बुबाआमाले सानोमा पढाउन सक्नुभएन् । नपढदा सवैले हेप्दा रहिछन् । त्यसैले अहिले पढ्न थालेकी छु ।’ जीवनमा शिक्षा भएन भने अघि बढ्न सकिदैन भन्ने बुझेकी अनिता उच्च शिक्षासम्मको अध्ययन गर्ने सोच भएको बताउँछिन् । पढ्न थालेपछि धेरै कुराको ज्ञान भएको बताउँने अनिता आफु जस्ता पढ्न नपाएको महिलाहरुलाई ढिलै भएपनि पढाईमा लाग्न सुझाव दिइन् ।
देवीकुमारी, बिमला र अनिता मात्रै होइन १४ बर्षअघि घोराहीमा स्थापना भएको चेतना महिला अनौपचारिक विद्यालयमा कक्षा १ देखि ७ सम्म अहिले ३० जना महिलाहरुले अध्ययन गर्दै आएका छन् । उनिहरुले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीकै कोर्ष अनुसार पठनपाठन गर्दै आएको विद्यालयकी प्रधानाध्यापक सुमित्रा पन्थी बताउँछिन् ।
विद्यालयकी प्रधानाध्यापक पन्थीले भनिन्,‘१४ बर्षअघि सञ्चालन भएको विद्यालयमा कोरोना भाइरसको संक्रमण अघिसम्म राम्रौ विद्यार्थी हुने गरेका थिए । करिव एक सय बढी दिदीबहिनीहरु आउने गर्नुहुन्थ्यो । कहाँ राखेर पढाउने भन्ने समस्या हुने गरेको थियो । तर अहिले पढ्ने काम हुनुहुन्छ ।’
साक्षर जिल्ला घोषणा भएपनि अहिले पनि समाजमा पढ्नलेख्नसँगै आफ्नो नाम लेख्न नजान्ने महिलाहरुलाई शिक्षा दिने काम गर्दै आएको पन्थी बताउँछिन् । उनले भनिन् ,‘अहिलेपनि समाजमा पढ्ने लेख्ने रहर भएर पनि पढ्न नपाएका महिलाहरु हुनुहुन्छ । उहाँहरुलाई मध्यनजर गरेर खुलेको विद्यालय हो ।’ यस विद्यालयमा अध्ययन गरेका महिलाहरु एसईईसँगै कतिपयले स्नाकोत्तरसम्म अध्ययन गरिरहेको प्रधानाध्यापक पन्थी बताउँछिन् । करिव १४ बषको अवधिमा २५ सय बढी महिलाहरुलाई विद्यालयबाट शिक्षा प्रदान गरिएको प्रधानाध्यापक पन्थी बताउँछिन् ।
२०६८ सालमा ६ जना महिलाहरु मिलेर सञ्चालन गरेको विद्यालयले महिलाहरुलाई पढाए बाफत चार सय रुपैया शुल्क लिने गरेको छ । पठनपाठनका लागि चार जना महिला शिक्षिकहरु रहेका छन् । उनीहरु दरवन्दी वाला भने होइन । विद्यालयले नै शिक्षक राखेर तलवको व्यवस्था गर्ने गरेको छ । तलव वाफत मासिक ४ हजार रुपैया दिने गरेको प्रधानाध्यापक पन्थी बताउँछिन् ।
करिव डेढ कट्ठा जग्गामा दुई वटा भवन निर्माण गरेर पठनपाठनको काम हुँदै आएको छ । तर गृहिनी महिलाहरुले पढ्ने विद्यालयलाई खासै कतैबाट सहयोग आउन नसकेको शिक्षिका सुधा गौतम बताउँछिन् । जस्ले गर्दा रझेनामा भवन निर्माणको सुरु भएको ७/८ बर्ष पुरा हुँदा समेत पूर्णता पाउन सकेको छैन ।
भवनहरु निर्माणसँगै प्लाष्टर र टिन लगाएर पठनपाठन गर्दै आएका छौ तर झ्याल र रंगरोगन गर्ने कार्य अझैसम्म हुन सकेको छैन । आर्थिक अभावकै कारण विद्यालयका प्राङंगन सफा र स्वच्छ हुनुपर्ने भएपनि आर्थिक अभावका कारण अस्तव्यत रहेको छ । भवन निर्माणका लागि तत्कालिन जिल्ला विकास समिति, घोराही उप–महानगरपालिका, संसद राजु खनाल, अनिता देवकोटालगायत विभिनन संघसस्थाहरुबाट सहयोग भएको समेत उनि बताउँछिन् ।