फोक्सुण्डो तालमा अस्थाई प्रहरी पोष्ट स्थापना
Tuesday, June 13th, 2023, 1:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, ३० जेठ
शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीय स्थल फोक्सुण्डो तालमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरिक्षक भिमप्रसाद ढकालले फोक्सुण्डो तालमा पुगेर अस्थाई प्रहरी पोष्टको स्थापना गरेका हुन् । आन्तरिक तथा विदेशी पर्यटकहरुको आगमन् भइरहने सुन्दर पर्यटकीय स्थल फोक्सुण्डोमा अपराधिक क्रियाकलाप हुन नपाओस भनेर पहिलो पटक अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको हो । यसलाई विस्तारै स्रोत–साधनले सम्पन्न गराएर स्थायी बनाईने प्रदेश प्रहरी महानिरिक्षक ढकालले बताए ।
यसैगरी पछिल्लो समय फोक्सुण्डो तालमा पर्यटकहरुको आगमन बृद्धि भइरहेकाले पर्यटकलाई सुरक्षा प्रदान गर्न तथा ‘सुरक्षित फोक्सुण्डो सुरक्षित पर्यटक’ भन्ने अवधारणा अनुरुप छिट्टै फोक्सुण्डोमा पर्यटक प्रहरी युनिटको समेत स्थापना गरिने प्रहरी महानिरिक्षक ढकालले जानकारी दिए ।
जेठ २७ गते देखि २९ गते सम्म जिल्ला प्रहरी कार्यालय मातहत रहेका प्रहरी चौकीहरुको स्थलगत अनुगमन निरिक्षण गरेर प्रदेश प्रहरी महानिरीक्षक ढकालको नेतृत्वमा गोरखापत्र दैनिकका प्रधानसम्पादक शिबकुमार भट्टराई लगायतको अनुगमन निरीक्षण टोली सडक मार्ग हुदै सुर्खेत फिर्ता भएको छ ।