दाङमा खडेरीले बारीमै सुके मकै
Tuesday, June 13th, 2023, 8:54 pm
Kalpristha
लिलाधर वली
दाङ, ३० जेठ
लामो समयसम्म खडेरी हुँदा किसानले लगाएको मकै बाली सुक्न थालेको छ भने खेतमा राखिएको ब्याडमा धाँजा फाटेको छ । मकैको झार गोड्नुपर्ने समयमा मकैका बोट खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । दाङको घोराहीमा करिब तीन साताअघि लगाइएका मकै तरकारीका बेर्ना पानी नपर्दा बारीमै सुक्न थालेका छन् ।
खडेरीसँगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका छन् । बारीमा रोपिएका मकैका बोट सुक्ने र ओइलिने गर्दा आफूहरू चिन्तामा परेको घोराही उपमहानगरपालिका–१२, हापुर तुलसीगन्ज निवासी किसान बुद्धिराम शर्मा बताउँछन् । किसान शर्माले भने, ‘रोपेको समय अनुसार आजभोलि मकै गोड्नुपर्ने हो तर खडेरीका कारण मकैका बोट सुक्न थालेका छन् । जसले गर्दा गोड्न सकेका छैनौँ ।’ उनि करिब १० कठ्ठा जमिनमा मकै रोपेको बताउँछन् ।
खडेरीका कारण मकैका बोट ओइलाउन र सुक्न थालेपछि मेहनत खेर जाने हो कि भन्ने चिन्ता थपेको घोराही उप–महानगरपालिका–१२ निवासी किसान रीता भट्टराई बताउँछिन् ।
धानभन्दा मकै बाली राम्रो उत्पादन हुने भए पनि लामो खडेरीका कारण यस वर्ष मकै के हुने हो भन्ने चिन्ता थपिएको उनि बताउँछिन् । भट्टराईले भनिन् , ‘पानी पर्दैन, रोपेको मकै सुकेर मर्न थालिसके ।’ उनि खेतबारीमा सिँचाइको व्यवस्था भए पनि पानी नपर्दा कुलोमा समेत पानी अझै आउन नसकेको बताउँछिन् । उनले भनिन् , ‘सिँचाइका लागि पक्की कुलो छ तर पानी नपर्दा कुलामा पानी नै आएको छैन । गर्मीले मकै हुन दिँदैन जस्तो छ । गर्मीले मकै सुक्न थालिसके, पानी पर्ने छाँटकाँट नै छैन ।’
किसानले लगाएको मकै खेती मात्र नभएर सबै बर्खेबाली यति बेला सुक्ने र मर्ने अवस्थामा पुगेको घोराही उप–महानगरपालिका–५ निवासी अर्का किसान शेरबहादुर वली बताउँछन् । पानी परेको भए मकै राम्रो हुने र धान खेतीका लागि ब्याड राख्नुपर्ने समय भए पनि पानी नहुँदा ब्याड नै राख्न नपाएको उनि बताउँछन् । किसान वलीले भने, ‘खडेरीले मकैका बोट सुक्ने र ओइलाउने मात्रै होइन, धान खेतीका लागि ब्याडसमेत राख्न पाइएको छैन ।’ यसरी दु:ख गरेर गरेको मकै बाली बारीमै सुक्न थालेपछि किसान चिन्तामा परेको उनि बताउँछन् । उनले भने , ‘लामो समयसम्म पानी नपर्दा दिनभर मकैका पात ओइलाएर लथ्रक्कै हुने गर्छन् र राति हुने चिसोले केही बोट भने हरियो देखिने गरेका छन् । अबको केही दिनभित्र पानी नपर्ने हो भने बोट बारीमै सुकेर सकिने छन् ।’
मकै बाली मात्रै होइन, लामो खडेरीका कारण किसानले लगाएका तरकारी बाली बोडी, घुइँया, काँक्रा, लौका, करेलालगायतका पनि सुकेका छन् । जेठको अन्तिमसम्म पनि धानको ब्याड जमाउन नपाएपछि किसान चिन्तित भएका छन् । यो समस्या उनीहरूको मात्रै नभएर सिँचाइ सुविधा नभएका जिल्लाभरका किसानको समस्या रहेको छ ।
दाङका अधिकांश ठाउँका किसानले लगाएका मकै बारीमै सुक्न थालेका छन् । धेरै जसो ठाउँमा धानको ब्याड अहिलेसम्म पनि किसानले राख्न सकेका छैनन् । अढाई सातादेखिको चर्को घाम र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष असर किसानलाई परेको छ ।