भाडा वृद्धि नगर्न घरधनीलाई संघको आग्रह
Thursday, June 15th, 2023, 8:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३२ जेठ
आर्थिक मन्दीका कारण व्यापार व्यवसाय घट्दै गएको बताउँदै घरधनीलाई पसल व्यवसायका लागि दिइएको सटर र घरको भाडामा वृद्धि नगर्न नेपालगन्ज उद्योग वाणिज्य संघ र कोहलपुर उद्योग वाणिज्य संघले आग्रह गरेका छन् ।
दुवै संघले छुट्टाछुट्टै अपिल प्रकाशित गरेर आर्थिक मन्दीका कारण धराशायी भएका व्यवसायीलाई परिस्थिति असहज रहेको बेलासम्म पसल व्यवसायका लागि दिइएको पसल र घरको भाडा वृद्धि नगर्न अपिल गरेका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले केही समय यता व्यवसायीहरू आर्थिक मन्दीको चपेटामा परेकाले उनीहरू पलायन हुने अवस्था आउन लागेको जनाउँदै पसलका लागि दिइएका घर र कोठाको भाडा वृद्धि नगरेर सहयोग गरिदिन आग्रह गरिएको बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले कोरोना भाइरसको सङ्क्रमण र आर्थिक मन्दीले विश्वको अर्थ बजार शिथिल बनेकाले व्यवसाय नै धरापमा परेको बेला पसल भाडा बढाइएमा झन् सङ्कट आउने हुँदा केही समय भाडा नबढाउन आग्रह गरिएको बताए ।
सोही प्रकारले कोहलपुर उद्योग वाणिज्य संघले पनि आर्थिक मन्दीका कारण व्यापार व्यवसाय प्रतिकूल अवस्थाबाट गुज्री रहेका बेला पसल भाडा नबढाउन अपिल गरेको छ । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले अहिले पनि आर्थिक मन्दी विद्यमान रहेका कारण पसल भाडा नबढाएर व्यवसायीलाई सहज वातावरण सिर्जना गरिदिन अपिल गरिएको बताए ।
अध्यक्ष पौडेलले सम्पूर्ण घरधनीको नाममा अपिलपत्र जारी गरेर मौजुदा कायम रहेको भाडा दरमा पनि आपसी सहमति र सद्भावका साथ केही छुट गरी व्यवसायीलाई राहत प्रदान गर्न आग्रह गरिएको बताए । कोहलपुर उद्योग वाणिज्य संघका अनुसार घरधनीका आ–आफ्नै अप्ठ्यारा र सङ्कट रहे पनि यो अप्ठ्यारो परिस्थितिको समयमा पसल र गोदाम भाडा नबढाई सहयोग गर्न अनुरोध गरिएको हो ।