प्रधानमन्त्रीप्रति जसपाले गरेको टिप्पणी निन्दनीय : प्रधानमन्त्रीकाे सचिवालय
Tuesday, August 11th, 2020, 11:44 am
amit
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनता समाजवादी पार्टी (जसपा) ले जारी गरेको टिप्पणीप्रति खेद प्रकट गरेको छ ।
मंगलबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस विज्ञप्ति जारी गर्दै जसपाले साउन २५ गते जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीप्रति अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै खेद प्रकट गरेका हुन् ।
‘पटक-पटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौजमात्र हो र सोचको दिवालीयापन नै हो,’ थापाले भनेका छन्, ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वभाविक नै मानिन्छ। त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ । शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुनु अनिवार्य छ ।’
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही साउन २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख थियाे ।