त्रिवेणीमा बनिरहेको पक्की पुल निर्माण कार्य अवरुद्ध
Monday, August 14th, 2023, 5:12 pm
Kalpristha
विष्णु देवकोटा
डोल्पा, २९ साउन
त्रिवेणीमा क्याराभान कन्स्ट्रक्सनले गरिरहेको पक्की पुलको निर्माण कार्य अवरुद्ध भएको छ । पुल निर्माणस्थलमा भेरीनदी र जगदुल्ला नदीको बहाव बढेर बाढीको उच्च जोखिम भएपछि निर्माण कार्य अवरुद्ध भएको हो ।
जगदुल्ला जलविद्युत कम्पनी लिमिटेले भेरी करिडोर अन्र्तगत भेरी नदीमा पुल निर्माण गर्न क्याराभान कन्स्ट्रक्सनलाई टेण्डर मार्फत कामको जिम्मा दिएको थियो ।
डोल्पा जाजरकोट र रुकुम पश्चिमको त्रिसाँध डोल्पाको त्रिवेणीमा २०७७ सालमा निमार्ण कार्य शुरु गर्ने गरी क्यारभानले कामको जिम्मा पाएको थियो । तर क्याराभान कन्स्ट्रक्सनले साढे दुई वर्ष सम्म पनि निर्माण कार्य शुरु नै नगरी अलपत्र छाडेको पुलको निर्माण कार्यको जिम्मा पछि आएर स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनले लिएको थियो ।
अलपत्र पुलको निर्माण कार्य दुुई वर्षपछि रेट्रो ट्रेक कन्स्ट्रक्सनले कछुवा गतिमा शुरु गरेको भएपनि निर्माण कार्यमा भएको ढिलाईले गर्दा बर्षातमा भेरी र जगदुल्ला नदीको बहाव बढेपछि निर्माण कार्य थप अवरुद्ध भएको छ ।
पन्ध्र करोडमा पुल निर्माण गर्ने भन्दै जगदुल्ला हाईड्रोपावर कम्पनीले साढे दुई वर्ष अघि ठेक्का खोलेको थियो ।
क्यारभान कन्स्ट्रक्सनवाट चौध करोड सत्र लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्स्टक्सनले पछिल्लो समय पुलको निर्माण कार्य शुरु गरे पनि पुलले भने खासै गति लिन नसकिरहेको बेला भेरीनदीको बहावले अवरोध गरेपछि निर्माण कार्य अझै पछि धकेलिने भएको छ । आर्थिक मसान्त सकाएर रेट्रो ट्रेक कन्स्ट्रक्सनको तर्फवाट योजना निर्माणस्थलमा खटिएका सव इन्जिनियर तथा साइट इन्चार्ज सुरेन्द्र रावल सहितको कर्मचारी समुह साइट कार्यालयमा एक जना कर्मचारीलाई हेरालो राखेर काठमाण्डौ हानिएको छ ।
पुलको बेस बनाउने निर्माण सामाग्री जम्मा गर्नुका साथै तटवन्ध निर्माण कार्य भइरहेको बेला भेरी र जगदुल्ला नदीको बहाव बढेर निर्माण स्थलमा समेत भेरी नदी पसेकाले काम अवरुद्ध भएको जगदुल्ला हाइड्रो पावर कम्पनिका कर्मचारी सुमन विसीले बताए । भेरीनदीको बहावले निर्माण स्थलसम्म सामाग्री लिने कुनै ठाउँ छैन । पुुलको निर्माण कार्य ढिलाई हुँदा निर्माणधिन १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावरको निर्माण कार्य समेतमा बाधा पुगि रहेको हाइड्रोपावरले जनाएको छ ।