बागेश्वरी मन्दिरको विकासको लागि गुरुयोजना बनाएर काम गर्छु: मुख्यमन्त्री चौधरी
Tuesday, August 15th, 2023, 7:17 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, ३० साउन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बागेश्वरी मन्दिरको विकासको लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने बताउनु भएको छ । मंगलबार नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले नेपालगन्जसँगै प्रदेशको विकासको लागि आफु कटिवद्ध भएर लागिरहेको बताउनु भयो । बाँके जिल्लामा राप्ती नदि, मानखोला, डुडुवा खोला कारण हुने कटानलाई रोक्न तटबन्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भयो ।
मुख्यमन्त्री चौधरीले भन्नु भयो, ‘अन्य जिल्लामा जस्तै बाँकेको पनि एउटा प्रमुख समस्या भनेको नदीले खेतीयोग्य जमिन कटान गर्दै लगेको छ । यसलाई रोक्नका लागि मैले विशेष योजना बनाएर काम गरेको छु । यसले नदीकटानबाट पिडित भएका जनतालाई सहयोग पुग्नेछ ।’
यसैगरी लुम्बिनी प्रदेशमा रहेका विभिन्न जातजातिको उत्थान र विकासको लागि आफुले बजेट बिनियोजना गरेको मुख्यमन्त्री चौधरीले बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायणप्रसाद गौडेलले अहिले जिल्लामा देखिएका मुख्य समस्याहरुको बारेमा मुख्यमन्त्रीलाई अवगत गराउँदै त्यसको समाधानको लागि पहल गर्न अनुरोध गरे ।
पार्टी सभापति गौडेलले राप्तीनदिको कटान, यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुरमा विस्तार गर्ने, पार्टी कार्यालयमा बन्न लागेको बिपी स्मृती भवन निर्माणमा सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरे ।
पत्रकार सम्मेलनमा प्रदेश सांसद माया पुन, सन्जु चौधरी, पुर्व मन्त्री एवम् नेपाली कांग्रेस बाँकेका पुर्व पार्टी सभापति गजेन्द्रबहादुर हमाल, नेपाली नेपाली कांग्रेस बाँकेका उप–सभापति गोपाल प्रसाद अधिकारी, पार्टी सचिव सुधान्सु कोइराला, कोषाध्यक्ष यक्ष बस्नेत, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी लगायतको सहभागिता रहेको थियो ।
क्याप्सनः मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई पार्टी कार्यालयमा स्वागत गर्दै सभापति नारायण गौडेल लगायतको टिम । तस्विरः कमल खत्री