नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : नगर भन्दा बाहिरको प्रतिनिधित्व खोई ?
Wednesday, August 16th, 2023, 3:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० साउन
आगामी भदौ २ गते हुन गईरहेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारहरु मतदाता भेटघाटमा व्यस्त भएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन नतिजा आफ्नो पोल्टामा पार्ने कसरतमा उम्मेदवारहरु लागि परेका हुन् ।
उम्मेदवारको टुङ्गो लागेसंगै आफुहरु घरदैलो र भेटघाट गरिरहेको उम्मेदवारहरु बताउँछन् अहिले सबै उम्मेदवारहरु व्यवसायीहरुसंग आफ्ना कुरा राख्ने र उनीहरुका कुरा सुन्ने काममा व्यस्त छन् ।
७ जना पदाधिकारी सहित २७ सदस्यीय कार्यसमिति रहने सो समितिका लागि उम्मेदवारी समेत परिसकेको छ भने, व्यापारीहरु यस पटकको निर्वाचनमा ४ हजार ९ सय ३१ जना मतदाता छन् ।
जसमध्ये ४ हजार ७ सय २० जना साधारण, १ सय ८२ जना एसोसिएट तथा २९ जना सम्बद्व मतदाता छन् । जसमध्ये करिव २५ प्रतिशत मतदाता नेपालगन्ज बाहिरका छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघमा नेपालगन्ज उप–महानगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, राप्तिसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाका उद्योगी व्यापारीहरु मतदाता रहेका छन् ।
तर, संघको कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यका आकांक्षी उम्मेदवारहरु नेपालगन्ज उप–महानगरपालिका भित्रका व्यवसायीहरु मात्रै छन् । यस्तो हुनुले नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्ज केन्द्रित मात्रै छ भन्ने कुरा प्रष्ट्याएको खजुराका व्यवसायीहरुको गुनासो छ ।
एउटै छाता भित्र रहेको खजुरा बजारका व्यवसायीलाई उम्मेदवार छनोट गर्नका लागि कुनैपनि छलफलमा नबोलाईएको खजुराका व्यवसायी शिबराज श्रेष्ठको गुनासो छ ।
संघ भित्र नेपालगन्ज पछि अर्को ठुला बजार भनेको खजुरा बजार हो । संघको मतदाता मध्ये २५ मतदात नेपालगन्ज नगर भन्दा बाहिरका छन् । तर, संघमा नेपालगन्ज बाहेकका अन्य प्रतिनिधि कोई नहुँदा नेपालगन्ज बाहिरका मतदातालाई उम्मेदवारहरुलाई भोट हालेर जिताउनु मात्रै भएको छ ।
यस अवस्थामा बजार अनुसारका समस्या पनि फरक हुन्छन् । नेपालगन्जका व्यवसायीले खजुरा तथा अन्य बजारका समस्या कसरी बुझ्लान् र समाधानका लागि पहल गर्लान् त ? भन्ने प्रश्न खडा भएको छ । यद्यपी खजुराका व्यवसायीहरुलाई कार्यसमिति सदस्यमा मनोनित गर्ने भनेर दुवै प्यानलले आस्वश्त पार्दै आएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघमा नेपालगन्ज बाहिरका व्यवसायी नअटाउनु नियतबस नभई सम्बन्धित व्यवसायीहरुकै ईच्छाशक्ति नहुनु रहेको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापा बताउँछन् । उनी भन्छन,‘नेपालगन्ज भन्दा बाहिरको व्यापारी आएर कार्यसमितिमा बसेर काम गर्न र समय दिन गाह्रो छ । यद्यपी उनिहरुको सहभागिता नगराउने भन्ने हैन । त्यसका लागि नयाँ योजना ल्याउन र त्यस अनुसार कार्म गर्न आवश्यक छ ।’
आफुहरुले सबै पालिकाका व्यवसायीहरुलाई संघको निर्वाचनमा पनि आवद्व हुन आफुहरुले निरन्तर भनेपनि आर्थिक मन्दी तथा चुनावमा हुने खर्चका कारणपनि नेपालगन्ज बाहिरका व्यवसायीहरु ईच्छुक नभएको समावेशी प्यानलका नेता ईश्वर पोखरेलले बताए ।
चुनावमा उम्मेदवारकै रुपमा नसमेटिए पनि नेपालगन्ज बाहिरका व्यवसायीहरुलाई चुनाव पछि पनि कुनै न कुनै हिसावले जोड्न सकिने उनको भनाई थियो ।