जोशीलाई कारबाहीको सिफारिस
Tuesday, August 15th, 2023, 8:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज ३० साउन
आगामी भदौ २ गते हुन गइरहेको नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा बागी उम्मेदवारी दिएका दिपेन्द्र जोशीलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेले मंगलबार विज्ञप्ती सार्वजनिक गर्दै जोशीलाई कारबाहीको लागि सिफारिस गरिएको बताएको छ । एमालेले टंकबहादुर धामी नेतृत्वको समावेशी प्यानललाई साथ दिन एमाले निकट सम्पूर्ण व्यवसायीलाई निर्देशन समेत दिएको छ ।
नेकपा एमालेका प्रदेश सदस्य रहेका दिपेन्द्र जोशीले पार्टीको मौखिक आग्रहलाई अटेर गरेकोले कारबाहीको लागि प्रदेश कमिटीमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकपा एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले जारी गरेको विज्ञप्तीमा एमालेको जनवर्गीय संगठन नेपाल उद्योग व्यवसाय महासंघ बाँकेले छनोट गरेका उम्मेदवारका साथै आफना उम्मेदवारलाई सहयोग, समर्थन र सहकार्य गरेका अन्य उम्मेदवारलाई पनि विजयी गराउन अपिल गरिएको छ ।
जोशीलाई उम्मेदवारी फिर्ता लिन मौखिक दबाब दिइएको र अटेरी गरेकोले कारवाहीका लागि प्रदेश कमिटीमा जानकारी समेत गराईएको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिएका छन् ।
समावेशी प्यानलमा एमालेले भने अनुसारको सहमति हुन नसक्दा अन्तिम दिनमा एमाले आफैले ‘डमि’ उम्मेदवारहरु खडा गरेको थियो ।
यद्यपी छलफलबाट कुरा मिलेपछि एमाले बाँकेले आफ्ना उम्मेद्वारहरुलाई पछि हट्न भनेको थियो । पार्टीको सर्कुलर अनुरुप अन्य उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपनि जोशिले भने फिर्ता लिन मानेका छैनन् । पछिल्लो समय उनि आफु स्वतन्त्र उम्मेदवार भएको बताउँदै आएका छन् ।