गोंगबु हत्याकाण्ड: अपराधी पक्राउ गरी सार्वजनिक, कसरी घट्यो घटना ? (कारण सहित)
Wednesday, August 12th, 2020, 11:54 am
amit
काठमाडौं, २७ साउन। गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पा रुन्टीगढी गाउँपालिका-७ घर भएका ४५ वर्षीय कृष्ण बहादुर बोहोराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका-१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका-७ घर भएकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
कहा घट्यो घटना ?
टोखा नगरपालिका-१० गोंगबु नवज्योती मार्गमा आइतबार बिहान सुटकेशभित्र टाउको बिनाको शव फेला परेको थियो । तालिम प्राप्त कुकुरलाई तत्कालै परिचालन गरी खोजी गर्ने क्रममा सोही ठाउँस्थित ३ सय मिटर टाढा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा फेला परेको थियो । उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उक्त घटनामा संलग्न कल्पनालाई चितवन कालिका नगरपालिका-९ शक्तिखोरस्थित माइतिघरबाट पक्राउ गरेको हो ।
घटनास्थलबाट धारिलो हतियार, ह्रयामर, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडाहरु, स्लिपीङ ट्याब्लेटको खोल र मोबाइल सेटहरु प्रहरीले बरामद गरेको छ ।
कसरी घट्यो घटना, के के भयो त्यो दिन ??
अनुसन्धानको क्रममा मृतक बोहोरा विगत ८ महिनादेखि उक्त होटलमा बस्दै आएको, मृतक र अभियुक्त कल्पनाबीच करिब ४ वर्षदेखि फेसबुक मार्फत चिनचान भई सम्पर्कमा रहेको, उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको, मृतकले अभियुक्तको फोटो राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफू अनुकूल चलाउनको लागि दबाब दिने गरेको, मृतक घटनाको दिन होटेलबाट बा.७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा आएको, कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएकोमा दहीमा ५ वटा निन्द्राको औषधि समेत मिसाई दिएको उक्त खानेकुरा खाएपछि कृष्ण बहादुर लठ्ठ परी सुतेको मौकामा फलामको ह्रयामरले प्रहार गरेको, सलले घाँटी कसेको र मरेको यकीन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाई झोलामा राखेर उक्त स्थानहरुमा आँफैले फालेको खुल्न आएको छ ।
तत्पश्चात् बिरामी लिएर काठमाडौं आई चितवनतर्फ फर्कन लागेको एम्बुलेन्समा आइतबार बेलुका कल्पना चितवनतर्फ गएको खुल्न आएको छ । साथै कृष्ण बहादुरको शव व्यवस्थापनमा संलग्न रहेको खुल्न आएपछि उनकै १५ वर्षीया छोरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।