नख्खु कारागारमा मनोसामाजिक अस्पताल बन्दै
Friday, January 6th, 2017, 8:59 am
amit
ललितपुर, २२ पुस । नख्खु कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढेपछि कारागारमै मनोसामाजिक अस्पताल बन्ने भएको छ ।
पच्चीस श्ययाको अस्पताल विसं २०७५ को असारसम्ममा निर्माण सम्पन्न हुने सम्झौता भएको छ । कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले मनोसामाजिक अस्पतालका लागि एकजना वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्टसहित १२ जना कर्मचारीको दरबन्दी व्यवस्था गरिसकेको छ ।
अहिले भएका कैदीबन्दीमध्ये झन्डै २० प्रतिशत मानसिक रोगी रहेको कारागारले बताएको छ । मानसिक अस्पताल लगनखेलमा रहेकाले पनि विभिन्न जिल्लाबाट मानसिक रोगी नख्खु कारागार सरुवा भएर आउने गरेका छन् । विभिन्न जिल्ला कारागारमा रहेका मानसिक रोगीलाई कारागार व्यवस्था विभागले नख्खु कारागारमा सरुवा गरेर पठाउने गरेको जेलर टेकबहादुर केसीले बताउनुभयो ।
अस्पताल बन्ने प्रक्रियामा भएपनि जिल्लाका कारागार र कैदीबन्दीले अस्पताल बनिसक्यो भन्ने सोचेर समेत आउने गर्छन् । उहाँ भन्नुहुन्छ, “पाटनमा उपचार हुन्छ भनेर पठाउने त छँदैछ अस्पतालको जग खन्दै भएपनि धेरै कारागारले यहाँभित्रै अस्पताल बनिसक्यो भनेर समेत बिरामी कैदी पठाउँछन्।”
अस्पताल बनेपछि मानसिक रोगसँगै अरु रोग पनि यहाँबाट उपचार हुने अस्पतालले बताएको छ । कारागारका लेखा अधिकृत मित्रलाल शर्माले अस्पताल बनेपछि बिरामीलाई नियमित लगनखेलस्थित मानसिक अस्पताल पु¥याउनु नपर्ने बताउनुभयो ।