नेपालगन्जमा यसवर्ष पनि गाईजात्रा मनाइने
Tuesday, August 29th, 2023, 6:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ भदौ
नेपालगन्जमा यसवर्ष पनि नेवार समुदायले सामुहिकरूपमा गाईजात्रा मनाउने भएका छन् । ‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ प्रत्येक वर्ष जस्तै यसवर्ष पनि नेपालगन्जमा गाईजात्रा मनाईने भएको हो । नेवाः पुचः बाँके आयोजक र नेवाः देय् दबू बाँके सह–आयोजनामा भदौ १४ गते गाईजात्रा मनाउन लागिएको हो ।
नेपालगन्जमा भव्य गाईजात्रा मनाउन बाँकेमा रहेका १० गुठीहरुको संयुक्त आयोजनामा गाईजात्रा हुने नेवाःपुचः बाँकेका सचिव बिवेक कुमार श्रेष्ठले जानकारी दिए । गत साउन २७ गते नै कार्यसमिति गुठीहरु पार्षद, मृतक परिवारहरुको बैठक र नेवाःपुचः बाँकेको कार्यसमितिको बैठकले नेपालगञ्जमा भदौ १४ गते गाईजात्रा धुमधामका साथ मनाउने निर्णय भएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भदौ १४ गते भेरी इङलिस बोर्डिङ स्कुल धम्बोजीमा जम्मा भई र्याली शुरु हुने र र्यालीले नेपालगञ्ज नगर परिक्रमा गरिने छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।