वरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन
Friday, September 1st, 2023, 5:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ भदौ
वरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगन्जमा शुक्रबार दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा. प्रधानको वि.स.२००२ सालमा जन्म भएको थियो । डा.प्रधानका श्रीमती र तीन छोरा छन् ।
वि.स २०३८ सालमा भेरी अस्पतालमा मेडिकल अधिकृतको रुपमा जागिर सुरु गरेका डा. प्रधानले २४ वर्षसम्म भेरीमै बसेर सेवा दिए । सेवा निवृत्त भएपछि भने उनले नेपालगन्जमा त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आएका थिए । बरिष्ठ बालरोग बिशेषज्ञ डा प्रधानले यसक्षेत्रका लाखौं बालबालिकाको उपचार गरेर प्राण दिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि डा.प्रधान गएको भदौ ४ गतेदेखि नेपालगन्ज स्थित वेष्टर्न अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनि पहिलेदेखिनै सुगरको समस्याले ग्रसित थिए । उपचारमा संग्लग्न वरिष्ठ फिजिसियन डा.खगेन्द्र जंग शाहका अनुसार डा.प्रधान अहिले फोक्सोको टिबी , कलेजो अनि किड्नीको समस्या लगायतले ग्रस्त थिए ।
पछिल्लो समय श्वास प्रश्वासमा समेत समस्या देखिएको डा.शाहले जानकारी दिए । यसक्षेत्रका चिकित्सकहरुका अभिभावक समेत रहेका डा.प्रधानको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै चिकित्सकहरुले गहिरो दुःख प्रकट गरेका छन् । डा.प्रधानको पार्थिव शरिरलाई अत्यष्टिका लागि काठमाडौं लाने तयारी भईरहको पारिवारीक श्रोतले जानकारी दिएको छ ।