प्रेस युनियन बाँकेले खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्दै
Monday, September 4th, 2023, 5:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ भदौं
नेपाल प्रेस युनियन बाँके शाखाले हिन्दु महिलाहरुको पर्व हरितालिकाको अवसरमा तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्ने भएको छ ।
प्रेस युनियन बाँके शाखाको बैठकले बाँकेमा क्रियाशिल महिला पत्रकारहरुलाई लक्षित गरेर तीज सम्बन्धी खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्ने निर्णय गरेको सचिव भिष्म लोधले बताए ।
स्टोरी लेखन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने महिला पत्रकारलाई नगदसहित पुरस्कृत गर्ने शाखाले निर्णय गरेको छ । तीज पर्वको अवसरलाई युनियन बाँकेले रचनात्मक काम गर्ने उद्देश्यले तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्न लागेको सचिव लोधले बताए ।प्रतियोगितामा सहभागिताको लागि उनले बाँकेमा क्रियाशिल रहेका सम्पुर्ण महिला पत्रकारलाई सार्वजनिक रुपमा आवहन समेत गरेका छन् । स्टोरी भदौं २४ गते सम्म पठाइसक्नु पर्ने युनियनले जनाएको छ ।
यसैगरी नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’को ९५औं जन्मजयन्तीको अवसरमा शाखाले विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
युनियन बाँकेले संस्थापक अध्यक्ष गुप्तको जन्मजयन्तीको अवसरमा आगामी भदौं २६ गते पत्रकारहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने भएको हो ।
बाँकेको पत्रकारितामा महत्वपुर्ण योगदान दिएका संस्थापक अध्यक्ष गुप्तको जीवनी विशेष बिचार गोष्ठी समेत गर्ने निर्णय गरिएको सचिव लोधले जानकारी गराए । गोष्ठीमा गुप्तले मोफसलको पत्रकारिता क्षेत्रको विकासमा पुरयाएको योगदान र पत्रकारिताको बारेमा चर्चा गरिनेछ ।