खजुरा क्यान्सर अस्पतालमै सुरु भयो ‘ब्लड बैंक’
Tuesday, September 5th, 2023, 8:07 pm
Kalpristha
नेपाल रेडक्रस सोसाईटी बाँकेको प्राविधिक सहयोग, खजुजा गाउँपालिका र अस्पतालको आर्थिक सहयोगमा ब्लड बैंक संचालनमा आएपछि क्यान्सर रोगका बिरामीलाई अब नेपालगन्ज र कोहलपुर आउनु पर्ने बाध्यता हटेको छ ।
रजनी योगी
खजुरा, १९ भदौं
खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापित रक्तसंचार केन्द्रको ‘ब्लड बैंक’ उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् संघीय सांसद किशोर सिंह राठौरले मंगलबार ब्लड बैंकको उद्घाटन गरेका हुन् । नेपाल रेडक्रस सोसाईटी बाँकेको प्राविधिक सहयोग, खजुजा गाउँपालिका र अस्पतालको आर्थिक सहयोगमा ब्लड बैंक संचालनमा आएपछि क्यान्सर रोगका बिरामीलाई अब नेपालगन्ज र कोहलपुर आउनु पर्ने बाध्यता हटेको छ ।
ब्लड बंैकको उद्घाटन गर्दै किशोर सिंह राठौरले बाँके जिल्लामा कुनैपनि पालिकाहरुले पालिकागत अस्पताल निर्माण गरिरहनु पर्ने आवश्यकता नभएको बताएका छन् । क्यान्सर अस्पताललाई नै व्यवस्थित गरि त्यहींबाट सेवा लिन उनको सुझाव छ । पछिल्लो समय क्यान्सर अस्पतालबाट विरामीले गुणस्तरिय सेवा पाईरहेको जानकारी दिदै थप व्यवस्थित बनाउन प्रतिबद्ध रहनु पर्ने उनले बताए ।
यस क्षेत्रमा ४८ वर्षदेखि नभएको विकास १० वर्षमा आफुले गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै आफु माननीय पदमा नरहँदा पनि क्यान्सर अस्पताललाई अगााडी बढाउन सधैं लागि पर्ने राठौरको भनाई थियो । राठौरले भने, ‘विरामीको सेवा गर्नु, खान नपाएकालाई खान दिनु धर्म हो, मन्दिरमा ढोगेर धर्म हुँदैन ।’ देश र जनता भन्दा ठूलो पार्टि नभएको भन्दै निस्वार्थ रुपमा जनताको सेवामा लाग्नुपर्ने उनले बताए । समाज र जनताको सेवा गर्दा जसलाई आनन्द महसुस हँुदैन त्यस्ताले राजनिति नगरि व्यापार वा कर्मचारी बन्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभासद बादशाह कुर्मीले अस्पतालको विकासमा सबै राजनितिक दल र समाजका अगुवाहरुले मिलेर काम गर्नु पर्ने तर्क राखे । उनले भने,‘अस्पतालको विकासमा हामीले राजनिति गर्न जरुरी छैन । यसको विकासका लागि यस क्षेत्रका जनताले धेरै ठुलो योगदान गर्नु भएको छ । अब हामीसबै मिलेर यसको स्तर उन्नतीमा लाग्नुपर्छ ।’
यसैगरी कार्यक्रमका अध्यक्ष सुशिल कोइराला क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले आफु एउटा युवा भएकाले आफुभित्र जनताको सेवा गर्ने हुटहुटी भएको बताए । सम्पूर्ण स्वास्थ्यकर्मीलाई उक्त अस्पतालमा सेवा लिन आउने विरामी आफ्नै आमा बुवा र परिवारजस्तो ठानेर सेवा दिन कर्मचारीलाई उनले अनुरोध गरे । आफुले विश्व विद्यालयबाट सिकेको ज्ञान प्रयोग गर्ने प्रयास गरिरहेको मल्लले बताए । कोही पनि व्यक्ति उमेरले बौद्धिक नहुने तर भोगाईले बौद्धिक हुने उनको भनाई थियो । मल्लले अस्पतालको विकास हुनुमा सम्पूर्ण खजुरा बासिको ठूलो सहयोग रहेको भन्दै खजुराबासिलाई धन्यवाद समेत दिएका छन् ।
पश्चिम नेपालकै पहिलो क्यान्सर अस्पताल खजुरा क्यान्सर अस्पतालले गुणस्तरिय सेवा दिन थालेपछि चितवनको भरतपुर क्यान्सर अस्पताल पुग्नेहरुले पनि यहींबाट सेवा लिन थालेका छन् । रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्नका लागि क्यान्सर अस्पतालमै ब्लड बैंक स्थापना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईले बताए । रगतको लागि खजुराका बिरामीहरु नेपालगन्ज आउनुपर्ने बाध्यता थियो । अब आउने दिनहरुमा बिरामीले रगतका लागि अन्यत्र जान नपरोस् र यही अस्पतालबाटै सजिलै रगत उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यले ब्लड बैंक स्थापना गरिएको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७६÷७७ मा जम्मा ४६ सय बिरामी भएकोमा २०७७÷७८ मा पुग्दासम्म ११ हजार विरामीले सेवा लिईरहेका थिए भने, २०७८÷७९ मा ७ लाख २९ हजार विरामीले सेवा लिएका थिए । गत वर्ष मात्रै क्यान्सरका करिब ३० हजार बिरामीको उपचार गरिएको छ भने ७ सय ५० भन्दा माथिको बिरामीको अप्रेशन गरिएको तथ्यांक छ । यसरी क्रमश विरामीको संख्या बढिरहेको छ । अहिले दैनिक २ सय विरामी आउने गरेको पनि मल्लले जानकारी दिए । अस्पतालमा स्थायी कर्मचारीको दरबन्दि नहँुदा करारमा कर्मचारी आउने र छोटो समयमै छोडेर जाने प्रवृत्ती बढेकाले उपचारमा केही समस्या भएको डा. भट्टराईले बताए जानकारी दिए ।
अस्पतालले ब्लड बैंक उद्घाटन संगै रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । ३० जना दाताले रगत दान गरेका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य बादशाह कुर्मि, रेडक्रस बाँकेका सभापति गोबद्र्धन सिंह सम्झना, खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, लगायत आ–आफुनो धारणा राखेका थिए ।