सुनको औंठी दिएर कार्यालय सहयोगीको विदाई
Thursday, September 7th, 2023, 7:25 pm
Kalpristha
सौरभ राना
खजुरा, २१ भदौं
विद्यालयको विकासमा महत्वपुर्ण योगदान गरेको भन्दैं बाँकेको ज्ञानोदय नमुना मावि खजुराका कार्यालय सहयोगीलाई सुनको औठी दिएर विदाई गरिएको छ । ज्ञानोदय नमुना मावि खजुरामा करिब तिन दशक सेवा गरेका कार्यालय सहयोगी राम बहादुर थापालाई विद्यालयका शिक्षकहरुले मायाको चिनो स्वरुप सुनको औंठी उपहार दिएका हुन् । यसैगरी विद्यालयले थापलाई आन्तरिक स्रोतबाट २ लाख ५० हजार उपदान दिदैं विदाई गरेको छ ।
थापाले २८ वर्षदेखी ज्ञानोदय नमुना माविमा कार्यालय सहयोगीका रुपमा योगदान गरेको भन्दैं उनलाई नगद उपदान, मायाको चिनो सहित विदाई गरिएको प्रअ ऋषिराम सापकोटाले कालपृष्ठ दैनिकलाई बताए ।
विदाई कार्यक्रमको अवसरमा कार्यालय सहयोगी थापालाई ज्ञानोदयमा कार्यरत शिक्षकहरुले एक दिनको तलबबाट ५० हजार पर्ने सुनको औंठी समेत उपहार दिएका हुन् । ज्ञानोदय नमुना मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमसरा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा २ हजार २ सय विद्यार्थीहरुका माझ थापाको भव्य विदाई गरिएको थियो ।
विदाई कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ३ अध्यक्ष एवम् विद्यालय व्यवस्थापनका पुर्व अध्यक्ष पुर्णबहादुर भण्डारी, पुर्व अध्यक्ष भक्त बहादुर केसी, कोपिला कंडेल, पिटिए अध्यक्ष मान बहादुर भण्डारी, प्रेम खरेल, पुर्व प्रअ घमान सिंह बस्नेत, प्रअ ऋषिराम सापकोटाले कार्यालय सहयोगी थापाको इमानदारिता, कर्तव्यनिष्ठताको प्रशंसा गरेका थिए ।

……………
उनले २८ वर्ष सम्म कार्यालय सहयोगीको रुपमा काम गर्दै विद्यालयको विकासमा महत्वपुर्ण योगदान गरेको भन्दैं उनलाई भव्य रुपमा विदाई गरिएको हो । विदाई कार्यक्रम विद्यालयका सहायक प्रअ यमनारायण महतोले संचालन गरेका थिए ।