१५ वर्षमा सवारी दुर्घटनामा परि ३१ हजारले गुमाए ज्यान
Sunday, September 10th, 2023, 5:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ भदौ
शुक्रबार राति दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस दुर्घटनामा प¥यो । ७ जनाको मृत्यु भयो भने २८ जना घाइते भए । २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।
बर्दियाको बेतना सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध उनीहरू तीर्थाटन गरेर फर्किंदै थिए । राति साढे ९ बजेतिर बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग ठोक्किएपछि ७ जनाको हताहती भयो । यो पछिल्लो दृष्टान्त हो ।
नेपालमा सवारी दुर्घटनाको आँकडा उकालो लागेको लाग्यै छ । नेपालमा सवारी दुर्घटनाबाट दिनमा सरदरमा ६ जना र वर्षमा औसतमा २ हजार बढीले ज्यान गुमाउने गरेको तथ्यांक छ । डेढ दशकअघि ५ हजार १७ सवारी दुर्घटना भएका अघिल्लो आर्थिक वर्ष आइपुग्दा झन्डै पाँच गुणाले बढेको छ । बढ्दो सवारी चापको अनुपातमा हेर्दा ठूलो आँकडा नलाग्न सक्छ । तर, यसले सिर्जना गरेको अवस्था भने भयावह छ । एक किमिसले भन्ने हो भने दिनहुँको दुर्घटनाले व्यक्तिमात्र नभई समाजलाई नै खँजाहा बनाइरहेको छ ।
आर्थिक वर्ष २०६५÷०६६ मा सवारी दुर्घटनाबाट १ हजार ३ सय ५६ जनाको ज्यान गएको थियो। अहिले त्यो तथ्यांक झन्डै दोब्बरले बढेको छ । अघिल्लो आर्थिक वर्षको साउन मसान्तसम्म सवारी दुर्घटनाबाट २ हजार ३ सय ६८ जनाले ज्यान गुमाएका छन् ।
यो तथ्यांक गएको आर्थिक वर्षको तुलनामा भने ५ सय १५ ले कमी हो । आर्थिक वर्ष २०७८÷०७९ मा २ हजार ८ सय ८३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको तथ्यांक छ । त्यसो त आर्थिक वर्ष २०७१÷०७२ देखि दुर्घटनाको ग्राफ निरन्तर उकालो लागेर आर्थिक वर्ष २०७६÷०७७ मा केही कम भएको थियो ।
आर्थिक वर्ष २०७१÷०७२ मा २ हजार ४, २०७२÷०७३ मा २ हजार ६, २०७३÷०७४ मा २ हजार ३ सय ८४, २०७४÷०७५ मा २ हजार ५ सय ४१ जनाको सवारी दुर्घटनामा ज्यान गएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा २ हजार ७ सय ८९ को ज्यान गएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा भन २ हजार २ सय ५१ ज्यान जाँदा २०७७÷०७८ मा पुनः २ सय ४९ ले बढेर २ हजार ५ सय पुगेको थियो ।
अहिलेसम्मको तथ्यांकलाई विश्लेषण गर्दा आर्थिक वर्ष २०७८÷०७९ मा धेरै अर्थात् २ हजार ८ सय ८३ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५÷०६६ को तुलनामा आर्थिक वर्ष २०६६÷६७ मा ३ सय ७८ जना बढीले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०६६÷६७ मा १ हजार ७ सय ३४ जनाले ज्यान गुमाएका थिए ।
त्यसपछिका आर्थिक वर्षमा भने वृद्धिदर त्यसरी उकालो लागेन। आर्थिक वर्ष २०६७÷६८ मा १ हजार ६ सय ९८, २०६८÷६९ मा १ हजार ८ सय ३७ रहेकामा आर्थिक वर्ष २०६९÷०७० मा केही घट्यो। आर्थिक वर्ष २०६९÷०७ मा १ हजार ७ सय ८७ जनाको सवारी दुर्घटनामा ज्यान गुमेको थियो । यसरी डेढ दशकमा १ लाख ८५ हजार ४० सवारी दुर्घटना भई ३१ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ ।