म्याद गुज्रिएका सामान बेच्ने कोहलपुरका तीन पसललाई जरिवाना
Wednesday, October 11th, 2023, 6:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २४ असोज
कोहलपुर नगरपालिकामा रहेका तीनवटा पसलमा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित र भन्सार छलीका सामानहरु भेटिएपछि जरिवानासहित कारबाही गरिएको छ ।

………..
कारबाहीमा पर्नेमा कोहलपुर वडा नम्बर ११ सुर्खेत रोडस्थित विशाल एण्ड विवश जनरल स्टोर, गण्डकी जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्स र न्यू गण्डकी डिपार्टमेन्टल स्टोर रहेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, र ईलाका प्रशासन कार्यालय कोहलपुर र प्रहरी प्रशासन सहितको संयुक्त अनुगमनका क्रममा ती पसल कारबाहीमा परेका हुन् ।
विशाल एण्ड विवश जनरल स्टोरमा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित तथा भन्सार छलीका सामानहरु भेटिइ तत्काल जरिवाना गरिएकोमा स्टोर सन्चालनकले जरिवाना पत्र बुझ्न ईन्कार गरेपछि जरिवानाको सूचना टाँस गरी आवश्यक प्रक्रिया अघि बढाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख विष्णुप्रसाद धितालले जानकारी दिए । विशेषगरी खाद्यान्न, पेय पदार्थको म्याद गुज्रिएको र भन्सार छली गरेको पाइएकोे एवं प्रतिबन्धित सुर्तीजन्य पदार्थ पनि फेला परेको उनले बताए ।

………….
यसैगरी सुर्खेत रोडमै रहेका गण्डकी जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्स र न्यू गण्डकी डिपार्टमेन्टल स्टोरमा म्याद गुज्रिएका करिब बाह्र हजार रुपैयाँ बराबरको सामान नष्ट गरिनुका साथै दश दश हजार गरी बीस हजार रुपैयाँ जरिवाना गरिएको धितालले जानकारी दिए । दशैं तिहार नजिकिएसँगै उपभोक्ताहरु नठगिउन् भनेर बजार अनुगमनलाई बढावा दिइएको पनि उनले बताएका छन् ।