आन्तरिक पर्यटन प्रर्वद्धनमा सक्रिय हुँदैं नाट्टा बाँके
Sunday, December 10th, 2023, 6:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ मंसिर
बाँकेको नरैनापुरमा रहेको धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर महादेव जाने आन्तर पर्यटकहरुको संख्या बढने क्रममा देखिएको छ । बाँकेको पुर्व क्षेत्रमा पर्ने सन्तानेश्वर महादेव आन्तरिक पर्यटकहरुका लागि पछिल्लो समय रोजाईको स्थानमा पर्न थालेको हो । गत शनिबार मात्रै विभिन्न पेशा र क्षेत्रमा रहेका करिब एक सय जनाको टोलीले संयुक्त सन्तानेश्वर मन्दिरको भ्रमण गरेर फर्किएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले नाट्टा बाँके च्याप्टरको आयोजना र नरैनापुर गाउँपालिका कार्यालयको आथित्यतामा पैदल यात्रा गरिएको थियो । बाँकेमा पछिल्लो समय नाटा बाँके च्याप्टरले सक्रिय भएर विभिन्न रचनात्मक काम गर्दै आएको छ । पर्यटन मार्फत पश्चिम नेपालको विकासमा नाट्टा बाँके च्याप्टर सक्रिय भएर लागेको छ ।
नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले पश्चिम नेपालका पर्यटकीय, धार्मिक, प्राकृतिक स्थलहरुको प्रचार प्रसार गर्दै आन्तरिक र बाह्य पर्यटक बढाउने काममा काम गरिरहेको बताउँछन् । सोही क्रममा गत शनिबार नाट्टा बाँके च्याप्टरले नरैनापुरको सन्तानेश्वर मन्दिर भ्रमणको व्यवस्थापन मिलाएको थियो ।
नरैनापुर गाउँपालिकामा अवस्थित उक्त मन्दिरमा पछिल्लो समय भारत र नेपालका विभिन्न ठाउँबाट दर्शन गर्न भक्तजनहरु पुग्ने गरेका छन् । नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले मन्दिर दर्शन गर्न करिव ४ घण्टा पैदल यात्रा गरिएको बताए । यस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपालगन्जबाट पुगेका पर्यटनकर्मी चिकित्सक, ब्यापारी, सामाजिक अभियन्ता, टुर एण्ड ट्राभल ब्यवसायी, कानुन ब्यवसायी, सञ्चारकर्मी लगायतको टोलीलाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल लगायतले स्वागत गरेका थिए ।