सीमा क्षेत्रका समस्या समाधानबारे अन्तर सम्बन्ध संवाद
Sunday, December 10th, 2023, 8:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ मंसिर
नेपाल-भारत खुला सीमा सम्वाद समूहले सीमा क्षेत्रका नागरिकले भोग्दै आएको समस्या र समाधानका उपायबारे अन्तर सम्बन्ध संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका वक्ताहरुले सीमा क्षेत्रमा दुवै तिरका प्रहरी प्रशासनले अनावश्यक रुपमा आम सर्वसाधारणलाई दुःख दिने गरेको बताएका छन् । सीमा क्षेत्रका नागरिकको पीडा काठमाडौं र दिल्लीले बुझन् नसकेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता विजय गुप्ताले नेपाल-भारत सीमा क्षेत्रलाई काठाडौं र दिल्लीको हेर्ने दृष्टिकोण गलत रहेको बताए । उनले भने, ‘दिल्ली र काठमाडौंले बनाउने गलत कानूनका कारण सीमा क्षेत्रमा समस्याहरु उत्पन्न हुने गरेका छन् ।’
यसैगरी पूर्वमन्त्री सर्वदेव ओझाले जमुनियाँ नाकामा चेकजाँचका लागि सर्वसाधारण तथा पर्यटकहरुलाई घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताए ।
लुम्बिनी प्रदेशसभाकी सांसद मीना श्रेष्ठले सीमा क्षेत्रमा आफू पनि धेरै नै पीडित रहेको गुनासो गरिन् । उनले भनिन्, ‘म सीमा क्षेत्रमा जाँदा एसएसबीले कार्ड देखाउन भन्ने, गाडीबाट ओर्लेर जानुस् भन्छन् । त्यसैले मैले शपथ नै खाइसकेको छु कि रुपैडिया नाकामा म कहिल्यै पनि जाँदिन ।’
नेपाल-भारत खुला सीमा सम्वाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले नेपाल-भारतको सदियौंदेखिको खुला सिमानामा जबदेखि राजनीति प्रवेश गर्यो, तबदेखि सीमामा कडाइ हुन थालेको बताए । उनले दुवै देशका नेतृत्वले सीमासम्बन्धी कानून बनाउँदा स्थानीय जनताको धारणा राखे ।