पाँच महिनामा साढे ८२ किलो सुन बरामद
Monday, December 11th, 2023, 5:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ मंसिर
पछिल्लो ५ महिनामा साढे ८२ केजी तस्करीको सुन काठमाडौँ उपत्यकाबाट बरामद गरिएको छ । नागढुंगाबाट बरामद दुई किलो बाहेक अरु सुन दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गेट बाहिरबाट साउन ३ मा ६० किलो सुन बरामद गरिएको थियो ।
६० किलो सुन बरामद भएको ५ महिना पुग्दै छ । पाँच महिनाभित्रै चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो र इजिप्टका सरिफ मोहम्मद लासिमले ल्याएको साढे ६ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । दुबईबाट काठमाडौँ ओर्लिएका र इजिप्टका सरिफ मोहम्मद लासिमलाई भन्सार एरिया पार गरिसकेको अवस्थामा पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले बताए ।
‘वाक थ्रु गेट’ पार गरेपछि शंका लागेर चेकजाँच गर्दा लासिमको साथमा सुन भेटिएको थियो । विमानस्थलमा चेकजाँच गर्ने उपकरण थपेर चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने विमानस्थल भन्सार कार्यालयका एक जना पूर्व भन्सार प्रशासकले बताए । सुन तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएको सुरक्षा अधिकृतहरुको अनुसन्धान निष्कर्ष छ ।
सुन तस्करीको पर्दा पछाडि थुप्रै व्यक्ति रहने हुनाले अपराधीले जोखिम उठाउने गरेको बताउँछन् पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी । उनी भन्छन्, ‘काठमाडौँमा सहज वातावरण भएको महसुस गरेर पोलिटकल एक्सेस र क्रिमिनल नेक्ससको आधारमा तस्करी हुने गरेको छ ।’