परसपुर–गौघाट सडक खण्ड समयमै बन्ने दाबी
Monday, December 11th, 2023, 6:30 pm
Kalpristha
सिमावती क्षेत्रमा नजिकै रहेको उक्त सडक खण्ड बाँके र बर्दियाका जनताहरुले दैनिक आवात–जावत गर्ने मुख्य सडक खण्ड हो । जहाँबाट नेपालगन्ज आउन जान निकै छोटो दुरी पर्ने गरेको छ । बाँकेको जानकी, खजुरा, बर्दियाका बढैयाताल गाउँपालिकाका जनताहरुले मुख्य रुपमा यस सडकलाई प्रयोग गर्दै आएका छन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ मंसिर
बाँके र बर्दियाको दक्षिण–पश्चिम क्षेत्रका जनताले बहुप्रतिक्षा गरेको परसपुर–गौघाट सडक खण्ड सम्झौता अवधिमै सकिने निर्माण कम्पनीले जनाएको छ ।
सडक निर्माणको ठेक्का पाएको कन्काई–गणपति जेभिका प्रमुख तुलसीराम भण्डारीले सम्झौता अगावै निर्माण काम सम्पन्न गर्ने दाबी गरेका छन् ।
अहिले निर्माण कार्य तिव्र गतिमा भैरहेको बताउँदैं उनले भने,‘हामीले दशैं अघि प्रारम्भिक काम सूरु गरेका थियौं । अहिले नाली बनाउने काम धमाधम भैरहेको छ । नाली बनाउने काम सकिने बित्तिकै सडक निर्माणको कामले गति लिन्छ ।’
दशै–तिहार नजिकिदै गरेको बेला निर्माण कम्पनीले बाटोमा माटो सम्माउने काम गरेको थियो । जसले थोरै भएपनि स्थानीयलाई आवात–जावतमा सहज भएको थियो ।
सिमावती क्षेत्रमा नजिकै रहेको उक्त सडक खण्ड बाँके र बर्दियाका जनताहरुले दैनिक आवात–जावत गर्ने मुख्य सडक खण्ड हो । जहाँबाट नेपालगन्ज आउन जान निकै छोटो दुरी पर्ने गरेको छ । बाँकेको जानकी, खजुरा, बर्दियाका बढैयाताल गाउँपालिकाका जनताहरुले मुख्य रुपमा यस सडकलाई प्रयोग गर्दै आएका छन् ।
उक्त सडक बिग्रिएपछि स्थानीय जनताले दुःख पाउँदै आएका छन् । संघीय सरकारको लगानीमा बन्न लागेको उक्त सडक खण्ड कन्काई–गणपति जेभिले २०८१ भदौं २५ गते सम्म काम सम्पन्न गर्नु पर्ने सम्झौता छ ।
सम्झौता अनुसार निर्माण कम्पनीले २०७९ बैशाख २५ देखि काम सुरु गरेर ०८१ भदौं २५ गते सम्म निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । तर सम्झौता भएको १६ महिना ढिला काम सुरु भएपछि स्थानीयले दबाब दिदैं आएका थिए । करिब १० किलोमिटर रहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्नका लागि कन्काई–गणपति जेभिले १४ करोड रुपैयाँमा ठेक्का पाएको छ ।
सूरुआतमा पिच रहेको परसपुर–गौघाट सडक खण्डको स्तर उन्नती गर्ने भन्दैं २०७४ सालमा भत्काउने काम भएको थियो । तर त्यसपछि बजेट अभाव कारण उक्त सडक खण्डको निर्माण कार्य अलपत्र परेको थियो ।
परसपुर–गौघाट सडक खण्डलाई यस क्षेत्रका नेताहरुले राजनितिक चुनावी एजेण्डाका रुपमा बनाएका थिए । जनतासँग गरेको प्रतिवद्धता पुरा गर्न नसकेपछि राजनिति दलका नेताहरु आलोचित पनि बनेका थिए । तर पछिल्लो समय परसपुर–गौघाट सडक खण्डको निर्माण कार्य भने सन्तोष जनक देखिएको छ ।