पर्यटन प्रर्वद्धन योजना सिकाउँदैं सकियो डिजिटल क्यापसिटी विल्डिङ ट्रेनिङ
Wednesday, December 13th, 2023, 6:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ मंसिर
पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्न सघाउने उद्देश्यले आयोजना गरिएको ‘डिजिटल क्यापसिटी विल्डिङ ट्रेनिङ’ सम्पन्न भएको छ । नेपालगन्जमा पाँच दिन सम्म चलेको तालिममा बाँकेका होटल, पर्यटन क्षेत्रसँग आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जीविकोपार्जन पूनरुत्थानको लागि दिगो पर्यटन परियोजना अन्तर्गत आइतबार देखि नेपालगन्जमा सुरु भएको तालिम नेपाल एशोसियसशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्सले (नाटा बाँके च्याप्टर)आयोजना गरेको थियो ।
युएनडिपी, नेपाल पर्यटन बोर्डको सहयोग रहेको पाँच दिने तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुले पाँच दिनको अवधिमा आफनो व्यवसाय, योजनालाई सफल बनाउन प्राविधिक रुपमा चाहिने क्षमता अभिवृद्धि गर्न महत्वपुर्ण रहेको धारणा राखेका थिए ।
बुधबार तालिम समापनको अवसरमा आयोजक नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले तालिमले पश्चिम नेपालको पर्यटन प्रर्वद्धन गर्नको लागि नयाँ योजना बनाउन सहयोगी बन्ने बताए । उनले भने,‘नाटा बाँके च्याप्टर यस क्षेत्रको धार्मिक, प्राकृतिक, सांस्कृतिक विविधतालाई चिनाउने अभियानमा लागेको छ । यस्ता तालिमले पश्चिम नेपालको आर्थिक विकासको मेरुदण्ड बन्ने सक्ने पर्यटन क्षेत्रको विकासमा सघाउँछ ।’
पर्यटकीय नयाँ गन्त्ब्य पहिचान गर्ने, पर्यटक भित्राउने बारेमा योजना बनाएर नाटा बाँकेले काम गरिरहेको अध्यक्ष सिग्देलले बताए ।
तालिममा बाँकेका ट्राभल्स एजेन्सी, होम स्टे, साना तथा ठुला होटलका जनशंक्ति, पर्यटनका बारेमा अध्ययन गरिरहेका विद्यार्थी, होटल व्यवस्थापका विद्यार्थी गरी ३० जनाको सहभागिता रहेको नाटा बाँके च्याप्टर सचिव भागीराम ओलीले बताए ।
पाँच दिने तालिमको गत आइतबार नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले उद्घाटन गरेका थिए ।
बुधबार तालिमको समापन अवसरमा नाटा केन्द्रिय सचिव, तालिम संयोजक एवम् प्रशिक्षक युबिका भण्डारीले प्रविधिले पर्यटन क्षेत्रको विकास र व्यवसाय बढाउन सहयोग गर्ने बताईन् । नेपाल पर्यटन व्यवसायमा विश्वमै सम्भावना बोकेको मुलुक भएपनि हामीले सिमित क्षेत्रमा मात्र ध्यान दिएको तालिम संयोजक भण्डारीले बताईन ।
उनले भनिन, ‘नेपालमा पर्यटन क्षेत्रमा जति अरुमा सम्भावना छैन । तर पर्यटकको लागि काठमाडौं, पोखरा, चितवन अनि ट्रेकिङका लागी एभरेष्ट मात्र हामी भन्छौं । अब नयाँ ठाउँहरुको पहिचान गरेर त्यसलाई प्रर्वद्धन गर्न जरुरी छ ।’
समापन अवसरमा होटल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, होटल एशोसियसन अफ नेपाल(हान) बाँके अध्यक्ष दिवाकर खनाल, होटल व्यवसाय संघ बाँके अध्यक्ष रंग बहादुर खड्का, पर्यटन प्रर्वद्धनमंच बाँके अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री लगायतको सहभागिता रहेको थियो ।