महिला व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनी मेला गरिदैं
Thursday, December 14th, 2023, 5:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ मंसिर
स्थानीय स्तरमा महिलाहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्दै आएको महिला उद्यमी संघ नेपाल बाँकेले यस वर्ष नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले आगामी पुस २४ देखि २८ गते सम्म नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना गर्ने निर्णय गरेको हो । महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्री बस्नेतको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजनाका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेर काम गर्ने निर्णय गरेको छ ।
महिलाहरुले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, सामाग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाले महत्वपुर्ण सहयोग गर्दै आएको छ ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले यस वर्ष थप व्यवस्थित र ग्रामिण भेगका महिलालाई प्राथमिकतामा राखेर प्रदर्शनी आयोजना गर्ने तयारी गरेको बताईन् । उनले भनिन,‘प्रर्दशनी मेला आयोजना गर्ने हामीले निर्णय गरेका छौं । तयारीमा हामी जुटिसकेका छौं । यस पटक थपः नयाँ स्थानबाट उत्पादन, उद्योग र व्यवसायमा काम गरिरहेका महिलाहरुलाई बजारीकरणका बारेमा सिकाउँदैं सहयोग गर्ने हाम्रो योजना छ ।’
यसैगरी संघको बैठकले प्रदर्शनी मेला आयोजनाको लागि महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहको संयोजकत्वमा तयारी अगाडी बढाउने निर्णय गरेको छ । प्रदर्शनी मेला संयोजक रेवती सिंहले नव उद्यमी महिलालाई प्रोत्साहन गर्दै व्यापार, व्यवसायमा भएका महिलालाई सहयोग गर्ने उद्देश्यले हरेक वर्ष मेला गर्ने गरेको बताईन । उनले भनिन,‘हामी खुसी छौं । प्रदर्शनी मेलाको तयारी सूरु गर्न पाउँदा । यस वर्ष प्रदर्शनलाई अझ आर्कषक र सफल बनाउन हामी विभिन्न योजना बनाएर काम गरिरहेका छौं ।’
यसैगरी आयोजक महिला उद्यमी संघ नेपाल बाँकेको टिमले प्रदर्शनी मेला आयोजनाको बारेमा नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टसँग भेटघाट गरेको छ । भेटघाटको क्रममा उप–महानगरपालिकाको समन्वयमा मेलालाई थप प्रभावकारी बनाउने बारेमा छलफल भएको संयोजक सिंहले बताईन् ।
महिला उद्यमी संघ नेपाल बाँकेले नेपालगन्ज धम्बोझी चोक नजिकैं सिटिजन्स बैंक अगाडी तरकार बिक्री गर्दै आएका महिलाहरुलाई कोशेल घरको प्राङगण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यसको समन्वय र व्यवस्थापनको लागि नेपालगन्ज उप–महानगरपालिकासँग सहकार्य गर्ने महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले बताईन् ।
………