नेपालगन्जलाई पोखरा घुम्न निम्तो
Sunday, December 17th, 2023, 7:58 pm
Kalpristha
नेपालगन्ज र पोखराका पर्यटनकर्मीहरु पछि आन्तरिक पर्यटनका समस्या र सम्भावनाका बारेमा छलफल भएको थियो ।
नेपालगन्जमा भएको कार्यक्रममा आन्तरिक पर्यटनको विकासको लागि व्यवसायिक सहकार्य र पर्यटन प्रवद्र्धनको बारेमा कार्यक्रमका सहभागिहरुले आ–आफनो अनुभव सुनाएका थिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ पुष
आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले ‘जाउँ है पोखरा’ अभियान सहित पोखराका पर्यटनकर्मी नेपालगन्ज आएर पोखरा घुम्ने निम्तो दिएका छन् ।
पोखरेली पर्यटनकर्मीको टोली आइतबार नेपालगन्जलाई आफनो सहर घुम्ने निम्तो दिदैं पश्चिम नेपालको सहर तिर लाग्यो ।
‘आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार’ भन्ने मान्यता सहित होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले जाउँ है पोखरा अभियान संचालन गरिरहेको छ ।
जसअन्तर्गत नेपालको तराई जिल्लाका प्रमुख सहरहरुमा गएर पोखराका पर्यटनकर्मीको टोलीले आन्तरिक पर्यटनको बारेमा छलफल गर्दै पोखरा घुम्ने निम्तो दिइरहेको छ ।
आइतबार नेपालगन्ज र पोखराका पर्यटनकर्मीहरु पछि आन्तरिक पर्यटनका समस्या र सम्भावनाका बारेमा छलफल भएको थियो ।
नेपालगन्जमा भएको कार्यक्रममा आन्तरिक पर्यटनको विकासको लागि व्यवसायिक सहकार्य र पर्यटन प्रवद्र्धनको बारेमा कार्यक्रमका सहभागिहरुले आ–आफनो अनुभव सुनाएका थिए । मंसिर २९ गते देखि पुष ४ गते सम्मको अवधिमा भैरहवा, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा अभियान अन्तर्गतको कार्यक्रम हुने होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी गराए ।
अभियानकै कारण देशभर नेपालमा घुम्ने संस्कृतिको विकास भएको र पछिल्लो समय पोखरा पुग्ने पर्यटक मध्ये ३५ प्रतिसत नेपाली रहेकोले आन्तरिक पर्यटनको सम्भावना बढदै गएको अध्यक्ष सुवेदीले बताए । संघले दुई दशक अघिदेखि आन्तरिक पर्यटन प्रवद्र्धनको अभियान सुरु गरेको थियो । त्यसले पोखराको पर्यटनमा सकारात्मक सन्देश दिएकोले अभियानलाई निरन्तरता दिएको उनले बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ट अधिकृत कुन्दन शर्मा मिश्रले पर्यटन बोर्ड निजी क्षेत्रसँगको सहकार्यमा पर्यटनको विकासका लागि सधै सकारात्मक भएर काम गरिरहेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएर काम गर्ने योजना रहेको उनले जानकारी गराए । पोखराको पर्यटनका क्षेत्रमा भएका काम र अभ्यासले अन्य सहरलाई पनि सहयोग पुग्ने भएकोले सबै क्षेत्रको सहकार्य र समन्वयले देशको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सघाउने उनले बताएका थिए ।
पोखराको होटल क्षेत्रमा करिब पाँच खर्ब लगानी रहेको छ भने एक हजार दुइ सय होटल संचालनमा रहेका छन् । जहाँ १५ हजारले रोजगारी पाइरहेका छन् । देशको विकास गर्ने प्रमुख क्षेत्र पर्यटन भएकोले यसमा नयाँ सम्भावना र सहकार्य जरुरी रहेको कार्यक्रमका सहभागिहरुले बताएका थिए । पोखरामा आन्तरिक पर्यटन प्रवद्र्धनको लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव, खेलकुद कार्यक्रमहरु आयोजना गदै आएको छ । अन्तराष्ट्रिय स्तरमा हुने कार्यक्रममा पनि सहभागिता जनाउँदै आएको छ ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका उपमेयर कमरुद्धिन राईले तराईको सिमावर्ती क्षेत्रमा सुरक्षा निकायको व्यवहारका कारण भारतीय पर्यटकहरुले दुःख पाईरहेको बताउँदैं व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए । उनले भने,‘हामीले भारतबाट पर्यटक भित्राउन सके धेरै फाइदा लिन सक्छौं । तर हाम्रो निकायहरुको निति र व्यवहारले पर्यटकलाई आउने वातावरण निर्माण गर्न भन्दा तर्साइरहेका छौं । यसलाई सुधार गर्न जरुरी छ ।’
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष चिरञ्जीवी ओली, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफले, नाटा बाँके अध्यक्ष श्रीराम सिग्देल लगायतले नेपालको पर्यटन क्षेत्रमा भएका समस्याहरुको बारेमा छलफल गर्दै नयाँ सम्भावना र समस्याहरुको बारेमा भनाई राखेका थिए ।
………….